Trending :
 

दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

आषाढ २४,२०७८

-आस्था न्यूज

असार २४, २०७८ काठमाडौं ।
सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचना बुधबार सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको हो ।
 
यो बृहत् जलाशययुक्त आयोजनाले तीन जिल्लालाई छुने छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलनअनुसार खोटाङको दुई गाउँपालिकाबाट जग्गा अधिग्रहणको थालनी गरिएको हो । 
 
कार्यालयले खोटाङको रावाबेँसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण बुधबार सार्वजनिक गरेको हो । सूचना गोरखापत्र दैनिकको बुधबारको अङ्कमा प्रकाशित गरिएको छ ।
 
सूचनाअनुसार रावाबँेसी–१ का ५८६ कित्ता, रावाबँेसी–२ का एक हजार ८९ कित्ता, वडा ३ का १७४, ४ का दुई हजार ३३० कित्ता जग्गा अधिग्रहण प्रयोजनका लागि रोक्का राखिएको छ । त्यसैगरी वडा ५ का तीन हजार ५४ र ६ का ८२१ कित्ता जग्गा रोक्कामा परेका छन् ।
 
पूर्ण तथा आंशिक रूपमा करिब १२ हजार रोपनी जग्गा रोक्कामा परेको आयोजनाले जनाएको छ । जग्गा रोक्का राखिएसँगै अब ती जग्गा खरिद–बिक्री हुने छैनन् भने नयाँ भौतिक संरचनासमेत बनाउन रोक लगाइएको छ । आजको गोरखापत्रमा खबर छ ।