छोरी बैंक खाताले अभिभावक खुशी
-आस्था न्यूज
असार २४, २०७८ काठमाडौं ।
कालीकोटको खाँडाच्रक्र नगरपालिका-२ का नयाँ सुनार खेती किसानी र मजदुरी गरेर जीविकोपार्जन गर्नुहुन्छ ।खेतीले वर्षभरी खान पुग्दैन् । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारले मजदुरी नगरेसम्म चुल्लो बल्दैन । आम्दानी नभएपछि बैंकमा खाता र बचत त सम्भव भएन । तर यहीँ परिवारमा जन्मिएकी सानी छोरी जमुनाको भने बैंकमा खाता छ । खाता मात्र होइन्, पैसा पनि जम्मा भइरहेको छ ।
२०७६ पुस १ गते प्रदेश सरकारले जमुनाको बैंकमा खाता खोलिदिएको थियो । उक्त खातामा प्रदेश सरकारले हरेक महिना पाँच सय रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँमा अहिले छोराको मोह बढी छ । हरेक परिवारमा छोराकै मोह गर्छन् । परिवारमा छोरी जन्मिदा नाक खुम्च्याउने गरिन्छ । तर, जमुनाको परिवारमा भने बेग्लै खुशी छ । कारण जमुनाको अभिभावक प्रदेश सरकार बनेको छ । परिवारले भन्दा पहिला प्रदेश सरकारले बैंकमा खाता खोलेर उनको सुन्दर भविष्यका लागि जग हालिदिएको छ ।
समाजमा छोरीहरुमाथिको विभेद कम गर्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले हाल बैंक खाता छोरीको, सुरक्षा जीवनरभरीको कार्यक्रम सञ्चालन गरिरहेको छ । यहीँ कार्यक्रममार्फत कर्णालीमा छोरीहरु जन्मिने वित्तिकै प्रदेश सरकारले बैंकमा खाता खोलेर रकम जम्मा गर्न थालेको हो । सरकारले छोरीको बैंकमा खाता खोलेर पैसा जम्मा गरिदिन थालेपछि हिजोआज छोरीप्रतिको दृष्टीकोण बदलिएको छ । छोरा मोहमा डुबेको समाज विस्तारै छोरीलाई सम्मान गर्न थालेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थित कालिकोटमा जमुनाको खाता खोलिएको थियो । प्रदेश सरकारले छोरी जन्मने वित्तिकै खातामा पैसा हाल्न थालेपछि जमुनाका बुवा नयाँ सुनारले भन्नुभयो, ‘यसअघि जन्मिएका छोराछोरीको बैंकमा खाता थिएन, पैसा नभएपछि खाता मात्र खोलेर के गर्नु रु तर प्रदेश सरकारले छोरी जमुनाको खाता खोलिदियो, हाम्री छोरीको खास अभिभावक त प्रदेश सरकार भयो ।’ आर्थिक अभावका कारण छोरीलाई पढाउन नसक्ने आफ्नो परिवारका लागि अब प्रदेश सरकारको सहयोगले छोरीले पढ्न पाउने उहाँले बताउनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ निवासी ओसिना रेग्मीकी छोरी सुवेक्षा अधिकारीको नाममा पनि बैंकमा खाता खुल्यो । उक्त खातामा प्रदेश सरकारले पैसा जम्मा गरिरहेको छ । जसले गर्दा छोरीको भविष्यका लागि अहिलेबाटै बचत हुन थालेको उहाँले बताउभयो । आजको गोरखापत्रमा खबर छ ।