सेयर कारोबारमा गृहिणीको आकर्षण, ३ लाख नाघे महिला सेयर लगानीकर्ता
-आस्था न्यूज
असार २५, २०७८ काठमाडौं ।
सेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा गत मंगलबारसम्म सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो यो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा २ लाख ३५ हजार महिला लगानीकर्ता थपिएका छन् ।
अघिल्लो आर्थिक वर्षको असारमा दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ६५ हजार ८ सय ४१ थियो । अहिले यो दोस्रो बजारमा कुल लगानीकर्तामध्ये महिला करिब ३८ प्रतिशत छन् ।
प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्नेको संख्या पनि जोड्दा सेयर बजारमा महिला लगानीकर्ताको संख्या अझै बढ्छ । आईपीओमा लगानी गरेपछि त्यो सेयर बिक्री गर्न दोस्रो बजारमा जानुपर्छ । यसकारण दोस्रो बजारमा सूचीकृत लगानीकर्तालाई सक्रिय लगानीकर्ता भनिन्छ ।
पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा बिहीबारसम्म ३७ लाख ५ हजार डिम्याट ९सेयर अभौतिकीकरण खाता० खाता खुलेका छन् । तीमध्ये करिब ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिलाको रहेको सीडीएस एन्ड क्लियरिङको तथ्यांक छ ।
साँझ–बिहान घरको कामकाजमा व्यस्त गृहिणी दिउँसो सेयर कारोबारमा सक्रिय हुन थालेपछि महिला लगानीकर्ताको संख्या बढेको बताइएको छ । घरको कामकाज पनि भ्याइने र दिउँसो खाली समय उपयोग हुने भएकाले महिलाका लागि सेयर बजार आयआर्जनको उपयुक्त विकल्प बनेको जानकारहरू बताउँछन् ।
सेयर बजारमा हरेक दिन ४ घण्टा कारोबार हुन्छ । बिहान ११ बजे बजार खुल्छ, ३ बजे बन्द हुन्छ । ‘गत वर्षसम्म बिहान घरधन्दा सकेर ११ बजे बजार जान्थें, साढे ३ बजे बच्चा लिन स्कुल पुगिसकेकी हुन्थें । अहिले अनलाइनबाटै सेयर किनबेच गर्न सकिने भएकाले सजिलो छ,’ सेयर लगानीकर्ता दीपा केसीले भनिन् ।
‘दिउँसो खाली समय राम्रोसँग उपयोग भएको छ,’ उनले भनिन् । सुरुमा छिमेकी दिदीको सल्लाहमा सेयर बजारमा लगानी गरेकी दीपाले महिनामा औसत ३० हजार रुपैयाँ कमाउने गरेको बताइन् । ‘मैले त सेयर घटेका बेला लगानी सुरु गरेकी हुँ, अहिले बजार बढेकाले राम्रो फाइदा भएको छ,’ उनले भनिन् । सुर्खेत स्थायी घर भई कलंकीमा बस्दै आएकी उनले आफूसँगै सिकेर १०र१५ जना महिला सेयर बजारमा सक्रिय बनेको सुनाइन् ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गृहिणीका लागि सेयर बजार निकै उपयोगी देखिएको बताइन् । ‘बिहान घरधन्दा सकेपछि मात्र बजार खुल्छ । साँझको काम सुरु नहुँदै बजार बन्द हुन्छ,’ उनले भनिन्, ‘यसकारण महिलाले दिउँसोको खाली समय राम्रोसँग उपयोग गर्न पाएका छन् ।’
सेयर बजारकै कारण महिलाले घर खर्च चलाउने पैसा कमाउन थालेको उनको दाबी छ । आईपीओमा कम उमेरका महिला लगानीकर्ताको संख्या उल्लेख्य रहे पनि दोस्रो बजारमा गृहिणीको संख्या धेरै रहेको उनले बताइन् । ‘खाली समय सदुपयोग हुने र कारोबार गर्न जाने राम्रो आम्दानी पनि हुने भएकाले गृहिणीको आकर्षण बढेको देखिन्छ,’ उनले भनिन् ।
सेयर बजारको सामान्य सिद्धान्त बजार घटेका बेला लगानी गर्ने र बढेका बेला बेच्ने हो । तर नेपालमा बजार बढ्दा धेरै लगानीकर्ता भित्रिन्छन् भने घट्दा बाहिरिन्छन् ।
यसकारण अहिले सेयर बजार बढ्दो अवस्थामा रहेकाले गत वर्षको असारको तुलनामा यो वर्षको सोही अवधिमा लगानीकर्ताको संख्या बढेको छ । नेप्सेका अनुसार गत मंगलबारसम्म दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ७ लाख ९८ हजार ४ सय ५९ पुगेको छ ।
तीमध्ये पुरुष लगानीकर्ता ४ लाख ९५ हजार १ जना, महिला ३ लाख १ हजार ५ सय ३४, सामूहिक लगानी कोष १ सय ३५ र संस्थागत लगानीकर्ताको संख्या १ हजार ७ सय ८९ रहेको नेप्सेको तथ्यांक छ ।
गत वर्षको असार १५ मा दोस्रो बजारमा १ लाख ९१ हजार ९ सय ९६ जना मात्र लगानीकर्ता थिए । तीमध्ये पुरुष लगानीकर्ता १ लाख २४ हजार ९ सय ५४ जना, महिला ६५ हजार ८ सय ४१, सामूहिक लगानी कोष १ सय १४ र संस्थागत लगानीकर्ता १ हजार ८७ वटा थिए ।
गएको एक वर्षमा मासिक ५० हजार ५ सय जना नयाँ लगानीकर्ता दोस्रो बजारमा भित्रिएको देखिन्छ । यसका आधारमा दिनमा १ हजार ७ सय नयाँ लगानीकर्ता बजारमा भित्रिएका छन् । आजको कान्तिपुरमा खबर छ ।