Trending :
 

देउवालाई विश्वासको मत दिने माधव नेपालको वचन

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं । 
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।
 
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिएका छन् ।
 
नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिएका छन् । ‘उहाँले हामी तपाईलाई विश्वासको मत दिन्छौं भनेँ भन्नुहुन्थ्यो’, भेटमा सहभागी नेता राजेन्द्र पाण्डेले भने ।
 
०५१ मा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले कांग्रेस र राप्रपाबाट मत पाएको स्मरण गर्दै गर्दै पाण्डेले भने, ‘अहिले पनि देउवालाई भोट दिएर प्रतिपक्षमा बस्न सकिन्छ ।’
 
देउवाले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर उनी र केपी शर्मा ओली दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना थिए ।
 
त्यही मुद्दामा सोमबार फैसला सुनाएको सर्वोच्चले संसद पुनस्र्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । साथै ७६ को उपधारा ५ को प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा हृवीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही नहुने पनि फैसला छ । आजका पत्रपत्रिकामा खबर छ ।