भारतमा फोन जासुसी गरिएको तथ्यले नेपालसम्म तरंग
-आस्था न्यूज
साउन ६,२०७८ काठमाडौं ।
राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ ।
इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ ।
एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको दाबी गरेको छ । तर, भारतमा भने सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोनमा पेगाससबाट हमला गरिएको पुष्टि भएको छ ।
भारतमा सफ्टवेयरबाट फोन जासुसी गरिएको खबरले हलचल आएको छ भने यता नेपालमा पनि कूटनीतिक विज्ञहरू चिन्तित भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया र नेपालका राजदूतको नम्बर जासुसीमा परेको अनुसन्धानले देखाएको छ ।
कुनै पनि नागरिकको र अझ कूटनीतिज्ञका फोन जासुसी गर्नु गम्भीर अपराध मानिन्छ । जर्मन चान्सलर एंगेला मर्केललगायत उच्च अधिकारीहरूको फोन अमेरिकी ‘नेसनल सेक्युरिटी एजेन्सी’ ले दशकदेखि नै ट्यापिङ गरेको विकिलिक्सले खुलासा गरेपछि सन् २०१५ मा दुई देशबीच कूटनीतिक सम्बन्धमा नै दरार आएको थियो । यता, नेपाली राजदूतको फोन ट्यापिङको विषयमा कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा नेपाल सरकार स्पष्ट हुन बाँकी छ ।
परराष्ट्र मन्त्रालयले फोन जासुसीबारे भारत सरकारबाट जानकारी माग्न दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यलाई निर्देशन पठाएको छ । ‘यो विषय हाम्रो जानकारीमा आएको छ ।
भारत सरकारको औपचारिक प्रतिक्रिया बुझ्न हामीले दूतावासलाई भनिसकेका छौं,’ परराष्ट्रका एक अधिकारीले भने । उता, राजदूत आचार्यले फोन जासुसीको समाचार पढे पनि अहिले औपचारिक रूपमा केही भन्न सक्ने अवस्था नभएको बताए ।
पेगासस प्रकरणबारे मैले पनि समाचारमा पढें तर आफ्नो जानकारीमै नरहेको सूचना र संयन्त्रका बारेमा केही प्रतिक्रिया दिने अवस्थै रहेन, के भन्ने र ?,’ उनले भने । आजको कान्तिपुरमा खबर छ ।