सरकारी सहायता खोज्दै होटल व्यवसायी

श्रावण ०७,२०७८

-आस्था न्यूज

साउन ७,२०७८ काठमाडौं ।
दुई वर्षदेखि ठप्प भएको होटल व्यवसायलाई सञ्चालनमा ल्याउन व्यवसायीहरुले सरकारको सहयोग खोज्न थालेका छन् । सरकारले नयाँनयाँ योजना ल्याए मात्र व्यवसाय माथि उठ्न सक्ने भन्दै व्यवसायीहरुले तत्काल सहकार्यका लागि सरकारसँग अनुरोध गरेको होटल एसोसिएनस नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।
 
कोभिडपछि दुबई, माल्दिप्स, श्रीलंकालगायतका देशमा पर्यटन क्षेत्र सुधार भैसकेको उदाहरण छ । हामीले पनि सरकारले साथ दिए यस्तै काम गर्न सक्छौ तर सरकारले साथ दिनुपर्छ, शाहले बताउनुभयो । व्यवसाय उठ्ने अवस्थामा छैन, सरकारले कर असुल्न छाडेको छैन तर दुई वर्षदेखि एक रुपैयाँ पनि आम्दानी गरेका छैनौं कसरी कर बुझाउने उहाँले प्रश्न गर्नुभयो ।
 
नीतिगत योजना माग्दै व्यवसायी
अर्थ मन्त्रालयले आर्थिक श्वेतपत्र ल्याउने तयारी गरेको छ । श्वेतपत्रमा के के समेटिन्छ र कसरी अगाडि बढ्छ भन्ने अझै स्पष्ट हुन सकेको छैन । होटल व्यवसायीहरुले श्वेतपत्रमा सबै विषय समेटेर ल्याउनु पर्ने माग गर्दा समेत कुनै समन्वय नभएको व्यवसायीहरुको गुनासो छ । निषेधाज्ञा खुकुलो बन्दै गएपछि सामान्यतः आन्तरिक पर्यटनको चहलपहल शुरु भएको छ ।
 
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती कर्मचारीलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको छ तर यो काज कसरी प्रयोग गर्ने भन्ने स्पष्ट गरेको छैन । ससुराली र माइती भएको क्षेत्रमा काज जान नपाउने भन्ने चर्चा भए पनि यसको कार्यन्वयन हुनेमा शंका उब्जिएको छ । सरकारले नयाँ नयाँ योजना सार्वजनिक गर्ने गरेको तर कार्यन्वयनमा भने पटक्कै नल्याएको व्यवसायीको आरोप छ । गोरखापत्रमा खबर छ ।