Trending :
 

नेपालगन्जमा बसेर ब्राउनसुगर बेच्ने भारतीय पत्रकार पक्राउ

श्रावण १०,२०७८

-आस्था न्यूज

साउन १०, २०७८ काठमाडौं ।
भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने गरेको खुलासा भएको छ । भारतमा सहजै पाइने लागूऔषध ब्राउनसुगरलाई भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर बिक्री-वितरण गर्ने गरेको खुलेको हो । यस्तो धन्दामा लाग्ने एक भारतीय पत्रकार रहेका छन् भने अर्का नेपालगन्जमा सुन पसलमा काम गर्ने व्यक्ति छन् ।
 
पत्रकारको परिचयपत्र भएपछि नाकामा आवत-जावत गर्न सहज हुने गर्दछ । पत्रकारलाई प्रहरीले जाँच गरेको पाइँदैन । पत्रकारको आवरणमा नेपालगन्जमा कोठा भाडामा लिएर ब्राउनसुगरको कारोबार गर्ने उत्तर प्रदेश बहराइच जिल्लाका २८ वर्षीय मो. सलमान खान रहेका छन् । 
 
उनीसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको छ । भारत लखनउका मुस्तकिम सिद्धिकी उनका कारोबारी साथी हुन् । उनीहरुले नेपालगन्जका आजाद कवडियामार्फत बिक्री गर्दै आएका थिए ।खान र सिद्धिकी नेपालगन्जको कोरियनपुरमा कोठा भाडामा लिएर बस्थे । कोठामा एसी जडान गरेर बडो ठाँटले बसेका थिए । कोठामै ब्राउनसुगर तौलिने व्यवस्था गरिएको थियो । ब्राउनसुगर तौलिने डिजिटल तराजु साथमै राखेका थिए । 
 
ग्राहकलाई जति चाहिन्छ उनीहरुले त्यहीं तौलिएर दिने गर्दथे । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले तीन महिनाको प्रयासपछि उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुको कोठाबाट ४३ ग्राम १ सय ५० लिमिग्राम ब्राउनसुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।