मल किन्न किसान तीन दिनदेखि लाइनमा
-आस्था न्यूज
साउन ११,२०७८ काठमाडौं ।
धनुषाको जनकल्याण सहकारी संस्था सबैला नगरपालिका-११ इनर्वाका सञ्चालक मनमोहन यादवले शुक्रबार एक सय बोरा युरिया र ३० बोरा डीएपी मल किन्न जनकपुरस्थित कृषि सामग्री लिमिटेडमा नगदी रसिद कटाए । तर आइतबार अपराह्नसम्म उनको मल बोक्ने संस्थाको ट्र्याक्टर कृषि सामग्री परिसरमै थियो ।
शनिबार राति २ बजेदेखि ट्र्याक्टरसहित मलका लागि लाइन लागेका पूर्वी धनुषा गोठ कोयलपुरका ट्र्याक्टर चालक सुरेश महरासँग पनि शुक्रबार काटेकै रसिद थियो । उनले पनि आइतबार मध्याह्नसम्म मल पाउन सकेका थिएनन् । मल बोक्न धनुषा र महोत्तरीबाट आएका झन्डै ८० ट्र्याक्टर रातिदेखि नै जनकपुरको जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कृषि सामग्री लिमिटेडको गोदामअघि लाइनमा छन् ।
पछिल्लो पटक सरकारले स्थानीय सरकारको अनुमति प्राप्त सहकारी संस्थामार्फत गाउँसम्म मल आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । धनुषा र महोत्तरीका १ सय ८३ सहकारी संस्थामार्फत किसानलाई मल आपूर्ति गरिँदै आएको कृषि सामग्री लिमिटेडका लेखा प्रमुख बेचन साहले जानकारी दिए ।
पछिल्लो तीन–चार दिनदेखि मल आपूर्तिमा समस्या उत्पन्न हुँदा किसानलाई मर्का परेको उनले स्विकारे । जनकपुरको कृषि सामग्री लिमिटेडमा प्रादेशिक कार्यालय वीरगन्जबाट मल आपूर्ति हुन्छ । ढुवानीको दररेट बढाइएकाले मल आपूर्तिमा समस्या भएको हो ।
जनकपुरको कृषि सामग्री शाखाले वार्षिक ६ हजार टन युरिया र ५ हजार टन डीएपी बिक्री गर्ने लक्ष्य राखेको छ । तीमध्ये गत आर्थिक वर्षमा जनकपुर शाखालाई ३ हजार ५ सय २५ टन युरिया र ४ हजार ५ सय २५ टन डीएपी मात्र उपलब्ध गराइएको थियो ।
उपलब्ध मलको कोटा बिक्री भइसकेको छ । सोमबारसम्म वीरगन्जबाट मल आपूर्ति भएन भने किसानलाई थप कठिनाइ हुने लेखा प्रमुख साहले बताए ।
धनुषामा धान उत्पादन हुने ५४ हजार हेक्टरमध्ये ८० प्रतिशतमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रको दाबी छ । तर रोपाइँ भएको कैयौं क्षेत्रमा दोहोर्याएर रोप्नुपरेको किसानले गुनासो गरेका छन् । सुरुमै रोपाइँ भएको खेतमा छर्किनुपर्ने मलको आभाव छ ।
यस वर्ष समयमै पानी परेकाले रोपाइँ अलि छिटो भएको केन्द्रका बालीविद् प्रदीप यादवको भनाइ छ । जलाद, जमुनी र कमला नदी किनार र पानी जम्ने जनकपुरधाम उपमहानगरपालिकास्थित बेंगा, शिवपुरलगायतका गाउँमा रोपाइँ भइसके पनि धेरैजसो स्थानमा फेरि धान रोप्नुपरेको छ । आजको कान्तिपुरमा खबर छ ।