नेपालबाट दिनहुँ २२ महिला तथा बालिका हराउने गरेको तत्थ्याङक सार्वजनिक
-आस्था न्यूज
साउन १३, २०७८ काठमाडौं ।
बुबाआमासित सामान्य भनाभन परेपछि १५ वर्षीया किशोरी सर्लाहीस्थित घरबाट निस्केर सम्पर्कविहीन भइन् । छरछिमेक, आफन्त, साथीभाइकहाँ सोधखोज गर्दा नभेटेपछि अभिभावकले माइती नेपाल र प्रहरीमा खबर गरे । एक महिनापछि उनी भारतको पुनेमा फेला परिन् ।
चितवनकी २१ वर्षीया बिना सापकोटा गत असार १४ देखि हराइरहेकी छन् । लन्डनमा अध्ययनरत उनी बिदामा घर आएकी थिइन् । केही दिनपछि फर्कने तयारी हुँदै थियो । अपराह्न साढे ४ बजे घरबाट बजार निस्केकी उनी फर्किइनन् । ‘कसले कहाँ देख्यौं भन्छन्, कसले कहाँ । सबैतिर चहारिसक्यौं, खोज्दाखोज्दै पुलिस, प्रशासनसँग ठोक्किन्छौं । छोरी कहीं फेला परेकी छैन,’ उनका बुबा जयश्वरले भने ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ प्रहरीको हराइरहेको सूचीमै छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/७८ को जेठ मसान्तसम्म देशभरका २७ हजार ४ सय ३३ जना महिला, किशोरी तथा बालिका हराए ।
तीमध्ये १० हजार ९ सय ६२ मात्रै फेला परेका छन् । हराएकाको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ५ हजार ९ सय ८१ जना हराएकामा गएको वर्ष ११ महिनामा ७ हजार ५ सय ६१ हराए ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार बेचबिखन जस्ता आपराधिक गतिविधिमा संलग्न भएर, बेचबिखनमा परेर, पारिवारिक बेमेल, प्रेमसम्बन्ध, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले महिला, किशोरी, बालिका हराउने क्रम बढिरहेको छ । हराएका केही भने मृत भेटिन्छन् ।
धादिङकी २२ वर्षीया युवती यसैको उदाहरण हुन् । गत साउन १ देखि सम्पर्कविहीन भएकी गजुरी-८ की सम्झना रोकाको शव १० दिनपछि घरनजिकैको जंगलमा भेटिएको थियो । असार ११ गते बिहानै घरबाट निस्केकी चितवनकी २३ वर्षीया सुजिता भण्डारी ९ दिनपछि जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।
कोही व्यक्ति बेपत्ता भएपछि परिवारजनले प्रहरीलाई गुहार्छन् । प्रहरीले हराएका व्यक्तिको फोटो, हुलिया र ठेगाना संकलन गरेर सबै जिल्ला र सीमानाकामा जानकारी पठाउँछ । प्रहरीका अनुसार आपराधिक गतिविधिमा संलग्न भएका र परिवारसँग सम्पर्कमा आउन नचाहेकाहरू सजिलै भेटिँदैनन् ।
भेटिइहालेको अवस्थामा परिवारले प्रहरीलाई जानकारी दिँदैनन् । आफैं ‘फलोअप’ गर्ने संयन्त्र प्रहरीमा पनि छैन । ‘स्रोतसाधनलगायतका कारणले हामीमा फलोअप र अपडेटिङको अभ्यास कमै छ, हराएको मान्छे मृत भेटियो भने पनि लगत अध्यावधिक गरिँदैन, यसले गर्दा लगतमा नभेटिनेको संख्या बढी देखिएको हो,’ प्रहरी प्रवक्ता कुँवरले भने ।
उनले लगत संकलन र अध्यावधिक कार्यलाई तल्लो तहसम्म प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय संवेदनशीलका साथ लागिरहेको दाबी गरे ।
कोही व्यक्ति हराएपछि खोजीका लागि परिवारजन पुग्ने निकाय माइती नेपाल पनि हो । माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले कोरोना महामारीको पहिलो र दोस्रो लहरको बन्दाबन्दी ९लकडाउन० र निषेधाज्ञामा हराएका ५ सय ११ जनामध्ये १ सय १३ मात्रै भेटिएको जानकारी दिए ।
माइती नेपालले आफ्ना शाखामार्फत प्रहरी कार्यालय, अन्य संघसंस्था र वैदेशिक निकाय र संयन्त्रसँग मिलेर खोजबिन गर्छ । पूर्वमा झापादेखि सुदूरपश्चिमको गड्डाचौकीसम्म र रसुवागढीमा गरी १५ वटा शाखा कार्यालय छन् । महिला, किशोरी, बालिका धेरैजसो भारत र चीनसँग खुला सिमाना भएका ठाउँबाट बाहिरिने गरेका छन् ।
किशोरी र बालिकालाई मनोरञ्जनात्मक क्षेत्रमा काम दिने लोभमा लुकाइछिपाइ भारत लगिने गरेको प्रहरीले जनाएको छ । सोमबार मात्रै पर्सा प्रहरी र माइती नेपाल वीरगन्ज आवधिक गृहको संयुक्त टोलीले भारतमा अर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका चार युवतीलाई उद्धार गरी फर्काएको छ ।
चारमध्ये एक जना पहिलेदेखि नै भारतमा अर्केस्ट्रामा नृत्य गर्दै आएकी थिइन् । उनले नै दुई जनालाई आकर्षक रकम पाइने बताउँदै भारत लगेकी थिइन् । आजको कान्तिपुरमा खबर छ ।