डीडीसीले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने

श्रावण १४,२०७८

-आस्था न्यूज

साउन १४,२०७८ काठमाडौं ।
दुग्ध विकास संस्थान ९डीडीसी०ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ ।
 
डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उहाँले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ । त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । ”
 
निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उहाँले बताउनुभयो ।
 
मेसिन खरिद गरेर आएपछि दुईदेखि तीन महिनाभित्रमा डीडीसीबाट उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “डीडीसीको मुख्य उद्देश्य स्वदेशी उत्पादनलाई विदेशसम्म पु(याउने, आफ्नो देशको जहाजमा आफ्नै देशबाट उत्पादित वस्तु बिक्री वितरण होस् भन्ने हामीले चाहेका हौँ । ”
 
निगमले डीडीसीबाट उत्पादित वस्तु खरिद गर्न थाले मौज्दात रहेको दुग्ध पदार्थको खपत बढ्ने विश्वास आफूहरूले लिए महाप्रबन्धक पौडेलले बताउनुभयो । मौज्दात रहेको दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई रकम तिर्न समस्या भइरहेको डीडीसीले जनाएको छ ।
 
किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले २० करोड रुपियाँ सहुलियत ऋणमा दिएको छ । किसानलाई अझै ४५ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । 
 
डीडीसीले आफ्नो दुग्धजन्य पदार्थको खपत बढाउन आमउपभोक्ताका लागि धुलो दूध बजारमा ल्याउनुका साथै कुखुराका लागि दानामा तथा खोपमा प्रयोग हुने धुलो दूध पनि बिक्री वितरण गर्न थालेको छ । आजको गोरखापत्रमा खबर छ ।