तुइनबाट जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागेः तुइन तार्ने कल्याणसिंह धामी

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
 
कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् । 
 
शुक्रबार बिहान उनी मालघाट पुग्दा नपुग्दै यात्रुको लाइन लागिसकेको थियो । ८ बजेसम्म त उनले चार जनालाई पारि तारिसकेका थिए । लगत्तै स्थानीय जयसिंह धामी, विक्रम रङ्कली किनारमा पुगे । उनीहरू सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने यात्रामा थिए । स्थानीय अनिता धामी पनि उनीहरूसँगै राजधानीसम्मको यात्रामा थिइन् ।
 
महाकाली तर्न जयसिंह तुइनमा झुन्डिए । त्यही बेला कल्याणसिंह झसंग भए । यताबाट जयसिंह तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए,’ कल्याणसिंह भन्छन् ।
 
वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् । जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो ।
 
किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन-चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’
 
कल्याणसिंह शुक्रबारको घटनापछि स्तब्ध छन् । एसएसबीका सुरक्षाकर्मीले तुइन खोल्न थालेपछि वारिबाट होहल्ला गरेको उनी बताउँछन् । ‘तुइन फुकाउन लागेको देखेपछि हामीले मान्छे छ, मान्छे छ भनेर करायौं तर नदीको आवाजले नसुनिने हुँदा हातले इसारा पनि गर्‍यौं । तर, उनीहरूले वास्तै गरेनन्,’ कल्याणसिंह भन्छन् । 
 
डोरी फुस्किएर जयसिंह नदीमा खस्नेबित्तिकै एसएसबीका सुरक्षाकर्मी घाटबाट माथि सडकतिर भागेको उनले सुनाए । ‘मान्छे खस्नासाथ उनीहरू पनि भागेर माथि सडकतिर गए । हामी त वारि नै भयौं, जयसिंह बगेको हेरिरहन बाध्य भयौं । केहीबेरसम्म टाउको देखिएको थियो तर एकैछिनमा गायब भइहाले,’ उनी भन्छन् ।
 
महाकाली पारि जान दार्चुलामा मात्र ११ ठाउँमा तुइन छन् । पछिल्लो दुई सातादेखि सीमा क्षेत्रमा एसएसबीले निगरानी बढाएको छ । दिनदिनै तुइन काटिएका छन् । तर, शुक्रबार भने अकल्पनीय र अमानवीय घटना भएकाले दार्चुलावासी चिन्तित छन् । ‘तुइन तर्नुपर्ने हाम्रो बाध्यता छ, गैरकानुनी रूपमा मान्छे आए भनेर उनीहरू रोक्न खोज्छन्, धम्क्याउँछन् । कुटपिट पनि गर्छन् । तर, ज्यानै लिन पनि अघि सर्न थाले, यो त अति भो,’ कल्याणसिंह भन्छन् ।
 
घर बनाउँदाको ऋण तिर्न विदेशतिर
 
जयसिंहले सात वर्ष नेपाली सेनामा जागिर खाए । तर, आर्थिक उन्नति नभएकाले विदेशतिर लागे । दुई वर्ष कतारमा ‘सेक्युरिटी गार्ड’ बने । फर्केर गाउँमा घर बनाए तर कमाएको पैसाले पुगेन । घर बनाउँदा लागेको ऋण तिर्न उनी फेरि विदेश जाने बाध्यतामा परे । दुई वर्षअघि पनि उनी कतार गएका थिए । 
 
तर, कोरोनाका कारण एक महिनामै घर फर्कनुपरेको थियो । घर बनाउँदा र घर चलाउँदा लागेको ऋणले उनी छटपटिएका थिए । तर, परिवालाई खुसी बनाउने भनेर हिँडेको केहीबेरमै उनी महाकालीमा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ ।
 
भाइसँग छुट्टिएर नयाँ घरसँगै जिम्मेवारी बोकेका जयसिंहका छोरा पाँच वर्षे र छोरी डेढ वर्षकी छन् । घटना सुनेयता आमा र श्रीमती अवाक् भएका छन् । गाउँका महिला र बूढापाकाले आमालाई सम्झाइरहेका छन्, युवाहरू जयसिंहको खोजीमा नदी किनारतिरै छन् ।
 
‘यो उर्लंदो कालीमा कहाँसम्म खोज्नेः न भेटिनेमा विश्वस्त छौं, न माया मार्न सकेका छौं,’ खोजीमा जुटेका हरकसिंह कार्की भन्छन् । पानी परिरहेकाले खोजीमा झन् समस्या आएको स्थानीयले बताए । आजको कान्तिपुरमा खबर छ ।