ओली र नेपालबीच फेरी आरोप-प्रत्यारोप

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका सबै निर्णय र पत्राचारमा अध्यक्ष केपी ओलीसँगै आफ्नो पनि हस्ताक्षरलाई एकताका लागि ‘बटमलाइन’ बनाएका छन् । 
 
दोस्रो वा अर्को अध्यक्षको प्रस्तावसहित एकताका लागि दोस्रो तहका नेताहरूले दौडधुप जारी राखेका बेला नेपालले निकट नेताहरूमार्फत आफ्नो ‘बटमलाइन’ बाहिर ल्याएका हुन् ।
 
दोस्रो अध्यक्षमा ‘कन्भिन्स’ गर्न शनिबार विघटित कार्यदलका सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । 
 
त्यसअघि विघटित कार्यदलका सदस्यहरूबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो । ‘कार्यदलले तयार गरेको दसबुँदे सहमति र दुई अध्यक्षको व्यवस्थालाई आधार बनाएर एकता गर्नुपर्छ भन्ने सन्दर्भमा शनिबार पनि कार्यदलका सदस्यबीच छलफल भयो, यद्यपि माधव नेपाल त्यसका लागि तयार हुनुभएको छैन,’ विघटित कार्यदलका सदस्य विष्टले भने, ‘हामीले उहाँलाई पार्टी एकताबाहेक अर्को विकल्प छैन भनेर सुझाव दिएका छौं ।’
 
 
अर्का एक नेताका अनुसार नेपालले ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण थप बिगारेको बताएका थिए । ‘केपी ओलीका पछिल्ला अभिव्यक्तिले विश्वासको वातावरण पैदा भएको छैन, दसबुँदेका सन्दर्भमा पनि मेरा अझै रिजर्भेसन छन्,’ नेपालले भनेका थिए, ‘दोस्रो अध्यक्षमा मेरो रुचि छैन । 
 
ओलीलाई अध्यक्ष मान्न कठिन छ किनभने उनी विश्वासिला पात्र हैनन् ।’ त्यसपछि कार्यदलका सदस्यहरूले एकताको विकल्प नभएको दोहोर्‍याएका थिए । ‘शतप्रतिशत आफ्ना मात्रै कुरा हुँदैन, एकतामा कसले के छोड्ने, कसले के छोड्ने नै हो, तपाईंले मान्नुपर्छ भन्यौं, उहाँले दोस्रो अध्यक्षमा मेरो रुचि छैन भन्नुभयो,’ उनले भने ।
 
नेपालले दोस्रो अध्यक्षमा आफ्नो रुचि नभएको भन्दै झलनाथ खनाल वा दोस्रो पुस्ताका अरू कोही नेतालाई बनाउन सुझाव दिएका छन् । ओली पक्षका नेताहरूले भने सबै कागजातमा दुई जनाको हस्ताक्षर रहने गरी नेपाललाई अधिकार दिन कठिन हुने बताएका छन् ।
 
‘एक त महाधिवेशनमा हार्नुभएको, त्यसमाथि अनुशासन तोड्नुभएको छ, उहाँ खास कारबाहीमा पर्नुपर्ने व्यक्ति हो, तैपनि एकता हुन्छ भने दोस्रो अध्यक्ष बनाएर जाऔं भनिएको हो तर उहाँले समान हैसियतको अध्यक्ष खोज्नुभयो,’ ओलीनिकट एक नेताले भने, ‘दोस्रो अध्यक्ष भनेपछि कसरी समान हैसियत हुन्छ र ?’