मन्त्रालय भागबण्डामा रस्साकसी, शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउन सक्ने
-आस्था न्यूज
साउन २०,२०७८ काठमाडौं ।
मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । सत्ता गठबन्धनका दलहरूबीच कुन-कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी शुक्रबारसम्ममा मन्त्रीमण्डल विस्तार हुनसक्ने बताउनुभएको छ । उहाँले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै भन्नुभयो–‘पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको छ । ’नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो-‘शुरूमा त माधवजीहरूलाई पनि कुरेको हो, अहिले माधवजीकै कारण मन्त्रीमण्डल विस्तार रोकिएको भने होइन, साझा कार्यक्रम सार्वजनिक भएपछि विस्तार होला कि?’ उहाँका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ ।
सत्तारूढ गठबन्धनले सरकाको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रीमण्डल विस्तार गर्ने नीति लिए पनि साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।
सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशिस जारी राख्नुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।