तत्कालीन राजा ज्ञानेन्द्रले १६ वर्षअघि बोइङ चार्टर गरी अफ्रिका घुमेको ५ करोड बक्यौता बाकी
-आस्था न्यूज
साउन २२,२०७८ काठमाडौं।
नेपाली राजनीतिका लागि राजतन्त्र र नेपाल वायु सेवा निगमका लागि बोइङ इतिहास भइसके तर तत्कालीन राजा ज्ञानेन्द्रले १६ वर्षअघि बोइङ चार्टर गरेर अफ्रिका घुमेको ४ करोड ८७ लाख अहिलेसम्म बक्यौता छ । अन्य १ सय ३० ग्राहकसँग पनि निगमले ३९ वर्षदेखिको २४ करोड उठाउन सकेको छैन ।
पूर्व ओसाकादेखि पश्चिममा लन्डन र फ्र्यांकफर्ट जोड्ने नेपाल वायु सेवा निगम किन खुम्चियो? एउटा जवाफी उदाहरण राजा ज्ञानेन्द्रको अफ्रिका भ्रमण पनि हो । तीन सातासम्म व्यावसायिक उडान रद्द गरेर निगमको जहाजमा राजा ज्ञानेन्द्र ढाका हुँदै अफ्रिकासम्म घुमेका थिए । उडान रद्द गर्दा परेको घाटा बेहिसाब छ तर जहाजको भाडाबापतको रकम कसले तिर्ने भन्ने अहिलेसम्म निश्चित छैन ।
राजा ज्ञानेन्द्रले २०६२ कात्तिक २५ बाट ढाकादेखि बुरुन्डीसम्म यात्रा गरेका थिए । उडानमा रहेका निगमका तत्कालीन क्याप्टेन युवराजकुमार भट्टराईका अनुसार राजा ज्ञानेन्द्र, रानी कोमल, परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कर्मचारी, अंगरक्षकसहित २० र निगमका तीन सेट चालक दल, इन्जिनियर, एयरहोस्टेससहित २० गरी जम्मा ४० हाराहारी उक्त जहाजमा थिए ।
राजाको टोली दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को १३ औं शिखर सम्मेलनमा भाग लिन निगमको बोइङ ७५७ विमानमा ढाका गएको थियो ।
ढाकापछि विश्व सूचना समाजको शिखर सम्मेलनमा सहभागी हुन दोहा घुम्दै राजारानीले मंसिर १ देखि ३ सम्म ट्युनिसिया भ्रमण गरेका थिए । त्यहाँबाट राजदम्पतीसहितको नेपाली टोलीलाई लिएर निगमको बोइङ दक्षिण अफ्रिका पुगेको थियो ।
त्यहाँबाट उनीहरू शान्ति मिसनको निरीक्षण गर्न द्वन्द्वग्रस्त मुलुक बुरुन्डी गएका थिए । बुरुन्डीबाट इजिप्टको कायरो हुँदै निगमको बोइङ मंसिर १७ मा काठमाडौं फर्किएको थियो ।
निगमको अर्थ विभागमा १० जना निर्देशक फेरिए । ३० वर्ष पुराना दुवै बोइङ निगमले लिलाम गरिसक्यो । आजको कान्तिपुरमा खबर छ ।