Trending :
 

चीनसँगको सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी निर्माण सम्पन्न

श्रावण २४,२०७८

-आस्था न्यूज

साउन २४, २०७८काठमाडौं ।
दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका-१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी ९बीओपी० निर्माण सम्पन्न भएको छ । सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाउनुभएका तिङ्करका स्थानीय योगेश बोहराले जानकारी दिनुभयो ।
 
सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो । सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द्र बमले जानकारी दिनुभयो । 
 
बीओपीको दुई वटा भवन ९ब्लक० संगै भान्सा र शौचालय निर्माण गरिएको छ । बीओपीको भवन तिङ्कर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको एसपी बमले बताउनुभयो । बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो ।
 
तिङ्कर गाउँबाट दुई किलोमिटरको दुरी छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ । छियालेकभन्दा माथि मानव बस्ती छैन । तिङ्करबाट झण्डै पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको एक नम्बर पिलर आउँछ ।
 
सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएपछि टिंकर भञ्ज्याङसम्म बेला बेला सुरक्षा गस्ती हुने गरेको छ ।
 
तिङ्करभन्दा तल दार्चुलाको कालापानी नजिक छाङरु गाउँमा सशस्त्र प्रहरीको गुल्म भवन निर्माणको काम भइरहेको छ । गत वर्ष सम्झौता भएको भवन निर्माणको काम सम्झौता अवधि सम्पन्न भएपनि निर्माण सम्पन्न भएको छैन् ।
 
हिउँदमा हिमपातका कारण काम गर्न नसकिएकोले काममा ढिलाइ भएको निर्माण कम्पनिले जनाएको छ । अहिले गुल्म भवनको एक तला ठड्याइएको छ । भवनमा प्रयोग भएको काठको विषयमा विवाद भइरहेको छ ।
 
सशस्त्र प्रहरीको छाङरु गुल्म निर्माणका लागि अवैध रुपमा पाँच सयभन्दा बढी गोब्रे सल्लाका रुख काटिएको स्थानीयले गुनासो गरेका छन् । अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने वन क्षेत्रबाट केही स्थानीयको मिलेमतोमा भवन निर्माणको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त ग्वाल्लेक नाती जेभी कम्पनीले सयौं रुखहरु काटेको तथ्य बाहिरिएको छ । 
 
अनुमति विना रुख काटिएको विषयमा अनुसन्धान थालेको अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभएको छ ।
 
अवैध रुपमा पाँच सयभन्दा बढी रुखहरु ढालेपछि ठेकेदार कम्पनीले सरकारी निकायसँग अनुमतिको प्रक्रिया खोजिरहेको छ । अवैध रुपमा सयौं रुखहरु ढालिएको विषयमा अनुसन्धान थालिएको भनिए पनि ठेकेदार कम्पनीले अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत नै सरकारसँग रुख कटानको अनुमति मागेको हो । गोरखापत्रमा खबर छ ।