देउवा महाधिवेशन सार्न कानुनी परामर्शमा
-आस्था न्यूज
साउन २६, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा कानुनी परामर्श थालेका छन् । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशन हुने सम्भावना कमजोर बन्दै गएपछि देउवा कानुनी परामर्शमा जुटेका हुन् ।
सोमबार सभापति देउवाले भदौमा महाधिवेशन गर्न नसक्दाको विकल्पबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग कुराकानी गरेका थिए । थपलियासँग टेलिफोन संवाद गरेका देउवाले खातीलाई बालुवाटारमा बोलाएर कानुनी परामर्श लिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सोमबार दिउँसो प्रधानमन्त्रीले आफूसँग टेलिफोन संवाद गरेको बताए । यस्तै महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएकाले नियमितजसो कानुनी परामर्श लिइराख्ने खातीको भनाइ छ ।
साउन २८ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका पेस गर्ने तयारीमा रहेका देउवाले महाधिवेशन सार्ने कानुनी बाटो खोजिरहेका छन् ।
साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन कार्यतालिका स्थगन गरेको छ । तर, भदौ २३ भित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पूरा हुँदैछ ।
नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । तर, संविधानको उक्त प्रावधानको पालना गरी महाधिवेशन गर्न काँग्रेस करिब असफल भएको छ ।
काँग्रेसको संस्थापन पक्षले त्यसलाई पालना गरेर निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष पनि निकालिसकेको छ । त्यसमा महामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाको पनि सोही निष्कर्ष छ । आजका पत्रपत्रिकामा खबर छ ।