सम्पदा संरक्षण र मर्मतमा ललितपुरको प्राथमिकता
-आस्था न्यूज
साउन २६, २०७८ काठमाडौं ।
ललितपुर महानगरपालिकाले प्राथमिकतासाथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ । नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएका छन् । ” उहाँले चार वर्षअगाडि आएका व्यक्ति अहिले पुनः पाटन आउँदा सम्पदा पुनर्निर्माणसम्बन्धी कार्य देखेर छक्क पर्ने दाबी गर्नुभयो ।
ललितपुर महानगरपालिका–७ मा अमृतवर्ण महाविहार जीर्णोद्धार सम्पन्न, वडा नम्बर २० को पूर्णचण्डी पाटी विहार, सतफल्चा पाटी जीर्णोद्धार, वडा नम्बर ६ को नारायण मन्दिर, वडा नम्बर २१ को कटुसा पुनर्निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्मतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर पुनर्निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, पिम्वाल जगमदु पोखरी, पाटी पुनर्निर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य मर्मत, पुशपति मन्दिर जीर्णोद्धार, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी पुनर्निर्माण गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख महर्जनका अनुसार महानगरपालिकाले करिब पाँच दर्जनभन्दा बढी मन्दिर सम्पदा पुनर्निर्माण गरेको छ । कतिपय सम्पदा पुनर्निर्माण गर्ने क्रममा रहेका छन् । उहाँले भन्नुभयो, “अहिले ललितपुर महानगर क्षेत्रमा सम्पदाले नयाँ स्वरूप पाएको छ ।
यसले ललितपुरको मात्र नभई, समग्र नेपालकै प्रतिष्ठालाई उचाइमा पुर्याएको छ । ” महानगर क्षेत्रमा अधिकांश सम्पदा मल्लकाल र लिच्छविकालका निर्माण भएकाले अहिले सबै सम्पदा सोही कालकै रूपमा पुनर्निर्माण भएका छन् । आजको गोरखापत्रमा खबर छ ।