तुइन घटना अनुसन्धानमा नेपाली टोलीलाई भारतको ‘असहयोग’
-आस्था न्यूज
साउन २७,२०७८ काठमाडौं ।
तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् ।
दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका-२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ ।
घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ ।
गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन ।
भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो । आजको कान्तिपुरमा खबर छ ।