Trending :
 

काँग्रेस महाधिवेशन सार्ने शीर्ष नेताहरुबीच सहमति

श्रावण २८,२०७८

-आस्था न्यूज

साउन २८, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।
 
महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक(फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।
 
तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
 
नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले रातोपाटीसँग भने, भोलि साउन २८ गते हुँदैछ । भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर, अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।
 
यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ । 
 
यस्तै काँग्रेस वरिष्ठ पौडेलले असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने रातोपाटीलाई बताए । उनले भने, क्रियाशील सदस्यता टुंगो नलागेकाले केन्द्रीय सदस्यको एजेण्डा अन्योलमा छ । महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका पनि अन्योलमा छ ।
 
क्रियाशील सदस्यताको विवाद टुंगो नलगाई कार्यतालिका र निर्देशिका आउन सक्दैन । किनभने निर्देशिकामा क्रियाशील सदस्य संख्याको अनुपात भन्ने कुरा छ, क्रियाशील सदस्यता टुंगो नलगाई कति अनुपात भन्ने? समस्या छ ।
 
पौडेलले भने, दशैं अगाडि महाधिवेशन सक्नैपर्छ । विधानलाई हेला गर्न पाइँदैन । संविधानलाई उपेक्षा गर्ने पाइँदैन ।
 
क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । उनले भने, कार्यतालिका मात्र ल्याएर क्रियाशील सदस्यता टुंगिएन भने त्यो कार्यतालिकाले पनि पहिलेकै जस्तो हावा खान्छ, पहिलेको कार्यतालिकाले जसरी हावा खाएर कार्यान्वयन हुन सकेन ।
 
क्रियाशील सदस्यता​ नटुंग्याई कार्यतालिका ल्याइए यो पनि  त्यही अवस्थामा पुग्छ । क्रियाशील सदस्यता टुंग्याएपछि मात्र कार्यतालिको अर्थ हुन्छ ।
 
तर, महामन्त्री पूर्णबहादुर खड्काले भने विहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए । उनले भने, ुभोलि कार्यतालिका र निर्देशिका पेस हुन्छ । निर्देशिकाको काम गर्ने साथीहरु लागिराख्नुभएको छ ।
 
९९ प्रतिशत क्रियाशील सदस्यता विवाद टुंगिएकाले महाधिवेशन कार्यतालिका ल्याउने खड्काको दाबी छ । उनका अनुसार कार्यतालिकाबारे बिहिबार बैठक अगाडि छलफल गरेर कार्यतालिका पेस हुन्छ ।
 
खड्काका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ ।आजका पत्रपत्रिकामा खबर छ ।