नेपाल समूहलाई पर्खिदा महिना दिनसम्म पनि मन्त्रिपरिषद् अपूरै
-आस्था न्यूज
साउन २९, २०७८ काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वले नै ढिलाइ गरिरहेको पार्टी नेताहरू बताउँछन् ।
कांग्रेस महाधिवेशनको अन्योलले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, सरकारको प्रभावकारितालगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बिहीबार सुरु भएको छ । बैठक सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भनेर देउवाले आफूनिकट नेताहरूलाई बताइरहेका छन् ।
देउवा किन यस्तो चाहन्छन् रु उनीनिकट एक नेता भन्छन्, ‘महाधिवेशनको विकल्पका विषयमा केन्द्रीय कार्यसमितिले ठोस निर्णय गर्नुपर्छ । त्यसमा सकेसम्म धेरैको सहयोग चाहिन्छ । अहिले मन्त्रिपरिषद् विस्तार गर्दा बैठकमा तनाव हुने र अनुकूल निर्णय गर्न गाह्रो हुन सक्ने उहाँको बुझाइ छ ।’
उपप्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । कांग्रेस, माओवादी र जसपाका शीर्षमध्येका नेताहरू सरकारमा जान चाहन्छन्, उपप्रधानमन्त्रीको हैसियतमा । यस्तै हैसियतमा कांग्रेस नेता प्रकाशमान सिंह र नेत्री सुजाता कोइरालाले दाबी गरेका छन् ।
माओवादीमा यसअघि उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराबीच पनि प्रतिस्पर्धा छ । त्यस्तै जसपाबाट उपेन्द्र यादव सरकारमा गए स्वतः उपप्रधानमन्त्रीको दाबेदार हुन् । तर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपप्रधानमन्त्री नै नराख्ने पक्षमा छन् । ‘उपप्रधानमन्त्री नराख्ने हो भने धेरै शीर्ष नेता प्रतिस्पर्धाबाट बाहिर हुन्छन्, यसले व्यवस्थापन सजिलो हुन्छ भन्ने नेताहरूको बुझाइ छ,’ माओवादीका एक नेताले भने ।
जसपामै पनि एउटा पक्ष अहिले यादवलाई रोक्ने प्रयत्नमा छ । एक नेताका अनुसार यादव पटक–पटक मन्त्री भइसकेकाले अवसर नपाएका सांसदलाई मन्त्रीमा पठाउनुपर्ने मत बलियो देखिएको छ । यादवलाई रोकेर राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जानुपर्ने मत बाबुराम भट्टराईलगायतका नेताको छ ।
ढिलाइको अर्को कारण हो– मन्त्रालयको भागबन्डामा विवाद । गठबन्धनबीच कुन पार्टीले कति मन्त्रालय लिने भन्ने विषय पनि टुंगिन सकेको छैन । संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाउन सकिन्छ, त्यसमा पनि अहिले प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री मात्रै बन्न सक्छन् । अहिले कांग्रेसले ९, माओवादीले ८ र जसपाले ७ मन्त्रालयमा दाबी गरेका छन् ।
आकांक्षी धेरै भएकाले मन्त्री छान्न तीनै दल आन्तरिक संघर्षमा छन् । कांग्रेसमा प्रकाशमान र सुजाताबाहेक नारायण खड्का, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, भीमसेनदास प्रधान, विनोद चौधरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, भरत शाह, मीन विश्वकर्मा, बहादुर सिंह लामा, डिला संग्रौला, तेजुलाल चौधरी, सञ्जय गौतमलगायतले मन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
त्यस्तै माओवादीमा श्रेष्ठ र महराबाहेक मात्रिका यादव, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विशंखे, शशी श्रेष्ठ, हितबहादुर तामाङ, हरिराज अधिकारी र कमला रोकालगायत दाबेदार छन् । जसपामा यादव, श्रेष्ठ, इस्तियाक राईसहित सबैजसो सांसद मन्त्रीका दाबेदार हुन् । पूर्ववर्ती ओली सरकारले जसपाका ११ जनालाई मन्त्री बनाएको थियो ।
प्रधानमन्त्री देउवासहित अहिले कांग्रेससँग गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री छन् । कांग्रेसकै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालसहित दुई मन्त्री पठाएको छ । जसपा अझै सरकारमा सहभागी भएको छैन । राष्ट्रिय जनमोर्चाले भने गठबन्धनमा रहे पनि सरकारमा नजाने स्पष्ट पारेको छ । आजको कान्तिपुरमा खबर छ ।