सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा
-आस्था न्यूज
साउन २९,२०७८ काठमाडौं ।
देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो ।
उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये तनहुँमा सबभन्दा कम २१ दशमलव १ प्रतिशत गरिब घरपरिवार भेटिएका छन् ।
तनहुँमा जम्मा ६५ हजार ७३ घरपरिवार रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको अध्ययनमा यस्तो देखिएको हो । मन्त्रालयले ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम’ सञ्चालन गरेर देशभर गरिबको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले मन्त्रालयद्वारा सञ्चालित गरिब घरपरिवारको पहिचान कार्यक्रमअन्तर्गत २६ जिल्लामा जम्मा १२ लाख २४ हजार ४१७ घरपरिवार रहेकोमा तीन लाख ९१ हजार ८३१ गरिब घरपरिवार पहिचान भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन लाख ९१ हजार ८३१ गरिब घरपरिवारमध्ये अति गरिब घरपरिवारको सङ्ख्या एक लाख ८८ हजार २३२, मध्यम गरिब घरपरिवारको सङ्ख्या एक लाख १९ हजार ७५४ र सामान्य गरिब घरपरिवारको सङ्ख्या ८३ हजार ८४५ रहेका छन् ।
२६ जिल्लामा ४० दशमलव ८ प्रतिशत गरिब घरपरिवार पहिचान भएको बताउँदै उहाँले पहिचान भएका जिल्लाहरूमा स्थानीय तहमार्फत परिचयपत्र वितरण कार्य भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयले अति गरिब घरपरिवार, मध्यम गरिब घरपरिवार र सामान्य गरिब घरपरिवार गरी तीन किसिमले गरिब घरपरिवारको पहिचान गरिरहेको सहसचिव जोशीले जानकारी दिनुभयो ।
मन्त्रालयले खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, बाजुरा, बझाङ, अछाम र कैलाली जिल्लामा गरिब घरपरिवार पहिचान गरेको हो । गोरखापत्रमा खबर छ ।