Trending :
 

राष्ट्रिय जनगणना-२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

श्रावण ३०,२०७८

-आस्था न्यूज

साउन ३०,२०७८।
 
सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।
 
अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “गणकहरूले घर घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकाले कोरोनाको वृद्धि दरमा कमी नआएसम्म जनगणनाको काम सम्पन्न गर्न कठिन हुन्छ । ”
 
यस वर्षभित्र जनगणना सम्पन्न गर्न नसके सरकारलाई वास्तविक तथ्याङ्कको अभावमा नीति र योजना बनाइ कार्यान्वयन गर्नमा समस्या हुनेछ । उहाँले यसले समग्र पक्षमा प्रभाव पार्ने भएकाले ढिलोमा यस वर्षभित्रै जनगणना गरिसक्नुपर्ने बताउनुभयो ।
 
सरकारले चालू आर्थिक वर्षको बजेटमा जनगणनाको बाँकी काम सम्पन्न गर्ने गरी एक अर्ब ६० करोड रुपियाँ बजेटमार्फत विनियोजन गरिसकेको छ । विभागले सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो सोही स्थानबाट बाँकी काम गर्ने जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।