Trending :
 

ओली र नेपाल आ-आफ्नो शक्ति बलियो बनाउने रणनीतिमा

भाद्र ०४,२०७८

-आस्था न्यूज

भदौं ४,२०७८ काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आ-आफ्नो शक्ति बलियो बनाउने रणनीतिमा जुटेका छन् । माधव पक्षका भनिएका नेताहरू भने तटस्थ बसेर दुवैतर्फ दबाब बढाइरहेका छन् । 
 
यसअघि नेपाल पक्षमै रहे पनि विभाजनमा साथ नदिएका भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, अरुण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जीवन घिमिरे, यज्ञराज सुनुवार, रचना खड्का, झपट रावल, नीरज आचार्यलगायत दोस्रो पुस्ताका नेता एकताका लागि भन्दै दुवैतिर खुलेका छैनन् ।
 
अमृत बोहरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भीम आचार्य, परशुराम मेघी गुरुङ, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, टंक कार्की, केदार न्यौपाने, धर्मराज निरौला, पवित्रा निरौला खरेल, राजबहादुर बुढा पनि तटस्थ नै छन् ।
 
बिहीबार रातिसम्म बैठक बसेका उनीहरूले कारबाही फिर्ता लिन ओलीलाई र दल दर्ता प्रक्रियाबाट अलग हुन नेपाललाई आग्रह गरेका छन् । ‘पार्टीलाई विभाजनबाट बचाउन पार्टी अध्यक्षका तर्फबाट १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न र अलग पार्टी दर्ताको प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हार्दिक आग्रह गर्दछौं,’ स्थायी कमिटीका ९ नेताले बैठकपछि जारी विज्ञप्तिमा भनेका छन् ।
 
उपाध्यक्ष युवराज ज्ञवालीले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने बताए । ‘हामी एकताको पक्षमा छौं, एमालेभित्र भएका गलत चिन्तन, व्यवहारको विरोध गर्छौं,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीभित्रै बसेर संघर्ष गरेर अघि जान्छौं ।’ उनले एमाले ओलीको दया र कृपाबाट चल्ने नभई विधि र पद्धतिबाट अघि बढ्ने बताए ।