Trending :
 

एनसेललाई एक अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने दूरसञ्चारको निर्णय

भाद्र ०५,२०७८

-आस्था न्यूज

भदौं ५,२०७८ काठमाडौं ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस (भ्यास) आफैँ नवीकरण ९अटो रिन्यु० गरेर ग्राहकबाट रकम लिएको भन्दै प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई एक अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।
 
 साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तै एपको स्वतः नवीकरण हुँदा प्रयोगकर्ताले थाहै नपाई ब्यालेन्स घट्ने समस्या रहेको पाइयो ।”
 
प्राधिकरणले एनसेललाई तोकेको क्षतिपूर्ति कम्पनीले सम्बन्धित ग्राहकलाई नै उनीहरूको मोबाइलमा फिर्ता गर्नुपर्नेछ । निर्णयअनुसार तीन महिनाभित्र एनसेलले क्षतिपूर्तिबापतको रकम ग्राहकलाई नै फिर्ता गर्नुपर्नेछ । फिर्ता गरिएको रकमको विवरण मासिक रूपमा उपलब्ध गराउन पनि प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ ।
 
रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई वा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गर्नुपर्ने पनि प्राधिकरणको निर्देशन छ ।
 
एनसेल प्रयोगकर्ताले मोबाइलबाट आफैँ ब्यालेन्स घट्ने गरेको उजुरीका आधारमा प्राधिकरणले निरीक्षण तथा जाँचबुझ टोली गठन गरेर अध्ययन सुरु गरेको थियो । टोलीको अध्ययनले २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म एनसेलले गेमलफ्ट नामको भ्यास सेवामार्फत ११ करोड ३७ लाख रुपियाँ आर्जन गरेको पाइएको प्राधिकरणले जनाएको छ ।
 
एनसेलले उक्त भ्यास सेवा तीन दिन र साप्ताहिक रूपमा आफैँ नवीकरण हुनेगरी प्याक सञ्चालन गरेको टोलीले फेला पारेको थियो । त्यस्तै ह्वावे एप ग्यालरीको नाममा कम्पनीले सोही अवधिमा ९९ करोड ९२ लाख रुपियाँ आर्जन गरेको पाइएको प्राधिकरणले जनाएको छ । 
 
यो एप पनि दैनिक, तीन दिन र साप्ताहिक रूपमा आफै नवीकरण हुनेगरी एनसेलले प्याक सञ्चालन गरेको देखिएको छ । आजको गोरखापत्रमा खबर छ ।