कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन, मुख्य विवाद बारा र सप्तरीमा
-आस्था न्यूज
भदौ ७, २०७८ काठमाडौं ।
संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ ।
साउन ३० को केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समयसीमा कांग्रेसको हकमा यही भदौ १९ बाट सकिँदै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो ।
वडा तहको अधिवेशन भदौ १८ मा सुरु गरेर दसैंअघि जिल्ला तहका अधिवेशन सक्ने र त्यसपछि प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको पछिल्लो कार्यतालिका छ । वडा अधिवेशन आउन दुई साता पनि बाँकी छैन । तर, वडा तहका मतदाता रहेका क्रियाशील सदस्यताको सूची महादेवप्रसाद यादवको संयोजकत्वमा गठित निर्वाचन समितिले अहिलेसम्म पाएको छैन ।
क्रियाशील सदस्यता वडा, गाउँ र नगर अधिवेशनका मतदाता हुन्छन् । तीनै सदस्यताबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि क्षेत्र र जिल्लाका मतदाता हुन्छन् । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिन्छन् । जुन केन्द्रीय महाधिवेशनका मतदाता रहन्छन् । आजको कान्तिपुरमा खबर छ ।