कांग्रेस सदस्यता विवाद टुङ्गियोः निर्धारित मितिमै महाधिवेशन
-आस्था न्यूज
भदौ ८,२०७८ काठमाडौं ।
नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको हो ।
विवाद समाधान भएसँगै क्रियाशील छानबिनको अन्तिम किनारा लगाउन पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमबार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ । समितिका तर्फबाट नेता सिटौलाले शीर्ष नेताद्वयलाई प्रतिवेदन बुझाउनुभएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनमा जुट्ने जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यताको सबै प्रिन्ट भइसकेकाले समस्या नहुने र थप भएको केही विवरण सचिवालयले मिलाउने बताउनुभयो ।
उहाँले मतदाता सामग्री हिमाली र दुर्गम पहाडी जिल्लामा हेलिकप्टरबाट ढुवानी गरिने तयारी रहेको बताउनुभयो । अब महाधिवेशन हुँदैन कि भन्ने अन्योल पनि समाप्त भएको छ । आजका पत्रपत्रिकामा खबर छ ।