Trending :
 

एमालेमा १० बुँदे कार्यान्वयनः कहीँ मिलन, कहीँ बिछोड

भाद्र ०९,२०७८

-आस्था न्यूज

भदौ ९, २०७८ काठमाडौं ।
तत्कालीन नेकपाकै पाला चरमचुलीमा पुगेको विवादले अब बाटो तय गरेको छ । घनश्याम भुसालसहितका असन्तुष्ट नेताहरू अब अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले बलियो बनाउने पक्षमा लागेका छन् भने माधव नेपाल नेतृत्वको दलले ओलीइतरको वाम एकता बनाउने घोषणा गरेको छ । 
 
ओलीसँग असन्तुष्टि राख्दै आएका स्थायी कमिटीका १० नेताले एमालेको पुरानै सांगठनिक संरचनाका आधारमा अघि बढेर एकता प्रक्रियामा सहभागी भएको बताएका छन् । अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका फरक मत राख्ने नेताहरूलाई समेटेर बलियो पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।
 
२०७५ जेठ २ मा फर्किएकाले पूर्ववत् जिम्मेवारीअनुसार महाधिवेशनमा जाने कार्यतालिका एमाले स्थायी कमिटी बैठकले पास गरेको छ । विगतमा फरक मत राखेका नेताहरू अब ‘सम्मानजनक’ अवस्थामा एकताबद्ध पार्टीमा काम गर्ने बताएका छन् । ‘पार्टीले नवौं महाधिवेशनले मार्गनिर्देशन गरेअनुसार १० बुँदे सहमतिका आधारमा अघि बढ्ने यो बैठकको मुख्य प्रतिबद्धता हो,’ एमाले उपाध्यक्ष भीम रावलले कान्तिपुरसँग भने, ‘अब सबै कुरा व्यवहारमा हेर्नुपर्छ । मुख्य कुरा १० बुँदे कार्यान्वयन नै हो । त्यसले नै पार्टी एकतालाई बलियो बनाउँछ ।’
 
असार २७ मा भएको १० बुँदे सहमतिको २ नं. बुँदामा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन्’ उल्लेख छ ।
 
 
नेपाल समूहमा रहेका मध्यमार्गी धारका नेताहरूसँगको सहमतिअनुसार मंगलबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने निर्णय लिएको छ । यसका लागि उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल बनेको छ ।
 
‘१० बुँदेमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा दस प्रतिशत मनोनयन गर्न, केन्द्रीय निकाय, विभागलाई पूर्णता दिन कार्यदल बनाइएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने । उपाध्यक्ष रावलले बहस र छलफलबाट निष्कर्षमा पुगेको निर्णयले विभाजनको प्रवृत्तिलाई निरुत्साहित गरेको बताए ।
 
‘अब फुटको औचित्य पुष्टि हुँदैन,’ नयाँ पार्टी बनाएका माधवकुमार नेपालतर्फ लक्षित गर्दै भने । स्थायी निर्णयसँगै मध्यमार्गी धारका नेताहरू संस्थापन पक्षमै रहन तयार भएका हुन् । यस्तै, नेकपाबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूको जिम्मेवारी यथावत् राख्दै अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
 
‘१० बुँदे सहमतिले उहाँहरूसहितको पार्टी क्रियाशीलताको प्रस्ताव गरेको छ । त्यसकारण उहाँहरू पार्टीको स्थायी कमिटीको सदस्य हुनुहुन्छ । नेकपाको कार्यकालमा जो केन्द्रीय सदस्य हुनुहुन्थ्यो, उहाँहरू एमालेको केन्द्रीय सदस्यमा रहनुहुन्छ,’ ज्ञवालीले भने, ‘तलतल पनि जोजो पार्टीका जिम्मेवारीमा हुनुहुन्छ, सबै तत्तत् जिम्मेवारीमा यथावत् रहनुहुन्छ ।’ पूर्वमाओवादीबाट एमालेमा समाहित भएका नेता टोपबहादुर रायमाझीले जेठ २ पछि जेठ ३ मा नेकपा बनेकाले पछिल्लो स्थायी समिति बैठकको निष्कर्ष नै एकता प्रक्रियामा आएका सबैलाई समेट्ने भएको बताए । ‘एकता प्रक्रियामा आएका सबै नेता, कार्यकर्तालाई समेट्नु नै बैठकको निष्कर्ष हो,’ उनले भने, ‘अध्यक्ष केपी ओलीले एकतामा आएका सबैको सम्मान हुने बैठकमा बताउनुभएको छ ।’
 
१० बुँदे कार्यान्वयनमा गएसँगै पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थाबाट क्रियाशील हुन निर्देशन दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । ‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटीलगायत सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने । १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रस्तुत गर्न निर्देशन दिइएको छ,’ ज्ञवालीले भने ।
 
उनका अनुसार बैठकले महाधिवेशन र विधान सम्मेलनको मितिसमेत तोकेको छ । पार्टीको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने र त्यसअघि पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न कात्तिक ६ गते वडा र ९ गते देशैभरि पालिका अधिवेशन गर्ने निर्णय भएको उनले बताए ।
 
त्यसअघि असोज ४ देखि ६ गते विधान महाधिवेशन हुनेछ । यसअघि एमालेले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको ज्ञवालीले बताए । पछिल्ला निर्णयहरूको सन्देश सम्प्रेषण भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लाहरूमा जिल्ला कार्यकर्ता भेला, जनवर्गीय संगठनको भेला आयोजना गरिनेछ ।
 
उनका अनुसार मसान्तसम्म सदस्यता नवीकरण गर्ने निर्णय भएको छ । त्यसमा २०७५ जेठ २ मा कायम रहेका सदस्यहरू, त्यसपछि थपिएका र एकता प्रक्रियामा आएका सबैको सदस्यता नवीकरण गरिने भएको छ । बैठकले नयाँ पार्टी दर्ता गर्न लागेको नेपाल पक्षलाई पनि पार्टी एकतामा आबद्ध हुन आह्वान गरेको छ । पार्टीमा फर्किनेलाई कुनै भेदभाव र कारबाहीसमेत नगरिने बैठकले निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
 
‘नयाँ पार्टीतिर जान खोज्नुभएका सबै साथीहरू आफ्नै घरमा फर्किनुस् । नेपाल त एमालेमा बस्दै नबस्ने गरी हिँडिसक्नुभएको छ,’ उनले भने, ‘तर, पार्टी एकतामा आउनेलाई स्वागत गरिनेछ ।’ आजको कान्तिपुरमा खबर छ ।