Trending :
 

उपत्यकाको फोहोर नउठेपछि, मेयर शाक्यले लेखे प्रधानमन्त्री देउवालाई पत्र

भाद्र ०९,२०७८

-आस्था न्यूज

भदौ ९, २०७८ काठमाडौं ।
काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार वञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ ।
 
शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक-पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाउनुभएको हो ।
 
पत्रमा लेखिएको छ– ‘वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाइदिन अनुरोध गर्दछु ।’
 
मेयर शाक्यले भन्नुभयो– ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई पत्र लेखेको हुँ ।’
 
पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । पत्रमा सबै विकल्प सकिएकाले वञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्नुपर्ने अवस्था आएकोे उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।