तरलता अभाव भएको भन्दै बैंकहरूले बढाउन थाले ब्याज
-आस्था न्यूज
भदौं १०,२०७८ काठमाडौं ।
कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउन थालेका छन् ।
पछिल्ला दिनहरूमा कर्जाको ब्याजदर बढेको पत्र बैंक तथा वित्तीय संस्थाबाट आउन थालेको उद्योगी व्यवसायीले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाउन थालेको नाडा अटो मोबाइल्स एसोसिएसनका उपाध्यक्ष आकाश गोल्छाले बताए । यसअघि बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर नबढ्ने बताउँदै आए पनि ब्याजदर बढेको पत्र आउन थालेको उनले जानकारी दिए ।
‘मैले कर्जा लिएका बैंकहरूबाट ऋणको ब्याज बढेको पत्र प्राप्त भएको छ,’ उनले भने, ‘०.५ प्रतिशतदेखि एक प्रतिशत बिन्दुले कर्जाको ब्याज बढाएका छन् ।’ यही अवस्था रहे यो वर्ष ब्याजदर धेरैले बढ्ने संकेत देखिएको उनको आकलन छ ।
कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन नहुँदा केही बैंकहरूले ब्याजदर बढाउन थालेको बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले स्वीकार गरे । ‘तरलता अभाव भइसकेको छैन, स्पष्ट संकेत भने देखिन थालेको छ,’ उनले भने, ‘तरलता कम भएकै कारण ७र८ वटा बैंकबाहेक सबै बैंकले स्थायी तरलता सुविधा ९एसएलएफ० लिइसकेका छन् ।’ केही सातायता सरकारी खर्च नभएकाले बैंकहरूमा तरलता अभाव देखिन थालेको उनले बताए ।
अन्तर बैंक सापटी पाउन गाह्रो छ भने यसको ब्याजदर पनि ५ प्रतिशत नजिक पुगेको छ । यही कारण बैंकहरूले रिपो र एसएलएफमार्फत तरलता व्यवस्थापन गरिरहेको उनले बताए ।
अब सरकारी खर्च बढेर बजारमा आयो भने त सहज होला, नत्र तरलता अभाव हुने देखियो,’ उनले भने, ‘आर्थिक वर्षको सुरुवाती अवस्थामा बैंकहरूको कर्जा प्रवाह राम्रो छ । तर त्यहीअनुसार निक्षेप बढ्न सकेको छैन ।’
राष्ट्र बैंकका एक उच्च अधिकारीले पनि अधिक तरलतामा कमी देखिन थालेको बताए । ‘तरलता अभाव भइहालेको नभए पनि चाप परेको सत्य हो,’ ती अधिकारीले भने, ‘तरलता अवस्था हेर्दा गत वर्षजस्तो कम नहुने देखियो, सिमान्त रूपमा बढ्न सक्छ ।’ अहिले सरकारले राजस्व संकलन मात्र गरेको तर खर्च नगरेकाले बजारमा पैसा नभएको उनको भनाइ छ । ‘सरकारले वित्तीय हस्तान्तरण गरेको छैन,’ उनले भने, ‘यसकारण बजारमा पैसा नआएको होला ।’
राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको छ । केही दिनयता बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी पाउन छोडेका छन् भने त्यसको ब्याजदर पनि ५ प्रतिशत हाराहारीमा पुगेको छ । अन्तर बैंक सापटी पाउन छोडेपछि बैंकहरूले एसएलएफ र रिपो लिन थालेका छन् ।
बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले एसएलएफ र रिपोमार्फत कुल ३५ अर्ब रुपैयाँ लिइसकेका छन् । जबकि बुधबारसम्म वित्तीय प्रणालीमा २३ अर्ब रुपैयाँ मात्र अधिक तरलता छ । एसएलएफ र रिपोमार्फत लिएको पैसा बैंकले एक साताभित्र फिर्ता गर्नुपर्छ ।
यसकारण बजारमा रहेको कुल अधिक तरलता रकममा एसएलएफ र रिपोमार्फत लिएको रकम घटाउँदा करिब १२ अर्ब रुपैयाँ अधिक तरलता ऋणात्मक देखिन्छ । विज्ञहरूले यो अवस्थालाई तरलता अभावका रूपमा विश्लेषण गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।