Trending :
 

मन्त्रिपरिषद्ले पूर्णता पाएनः नेताहरुलाई मन्त्री छान्‍नै मुस्किल

भाद्र १३,२०७८

-आस्था न्यूज

भदौ १३, २०७८ काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् । 
 
सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी ९जसपा० मा मन्त्रीका आकांक्षी मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् । कुन दलले कति मन्त्रालय लिने टुंगो लागे पनि कसले कुन मन्त्रालय लिने भन्ने पनि मिलिसकेको छैन ।
 
मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भए पनि कहिलेसम्म विस्तार गर्नेबारे ठोस सहमति बनेको छैन । प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार उनीहरूले नाम दिएलगत्तै गर्ने तयारी छ ।
 
जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रै हुने र त्यसपछि सरकारको काम प्रभावकारी हुने बताए । ‘अब धेरै ढिला हुन्न । केही दिनभित्रै विस्तार होला,’ उनले भने, ‘त्यसपछि सरकारको काम चुस्त हुन्छ ।’ स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । 
 
खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।