असोज १ देखि निजी विद्यालय खोल्ने तयारी
-आस्था न्यूज
भदौ १५,२०७८ काठमाडौं।
१७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही-केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो ।
पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन् । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।
शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा । किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन ।
त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो । त्यसकारण पनि १७ महिनाको अवधिमा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको छ ।
कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि कैयन् विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।