दार्चुला तुइन घटनाः एसएसबीकै दोष किटानसहित सरकारलाई प्रतिवेदन
-आस्था न्यूज
भदौं १६, २०७८ काठमाडौं ।
दार्चुलाका युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनले एसएसबीका सुरक्षाकर्मीले घटना गराएको किटान गरेको छ ।
महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका सुरक्षाकर्मी दोषी रहेको ठहरसहितको प्रतिवेदन आएपछि अब दोषीलाई कारबाही गराउने जिम्मेवारी नेपाल सरकारसामु आएको छ । आफ्ना नागरिकमाथि भएको यो मानवताविरोधी अपराधविरुद्ध बोल्न भने नेपाल सरकारले आनाकानी गर्दै आएको छ ।
तेस्रो पटक थपिएको म्याद मंगलबार सकिएपछि पनि तीन दिन थप्ने तयारी भएको थियो । तर, सुनियोजित रूपमा ढिलाइ गरेर देशलाई अलमलमा पार्न खोजिएको भन्दै सञ्चारमाध्यमबाट आवाज उठेपछि समितिले मंगलबार नै प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनले घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मी संलग्न रहेको किटानी नै गरेको गृहका एक अधिकारीले बताए । ‘व्यास गाउँपालिका-२, खाङदाङ मालका जयसिंह धामी महाकाली नदी तरेर गस्कु पुग्न केही दूरी मात्र बाँकी थियो तर भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएकै कारण उनी भेलमा खसेर बेपत्ता भएका हुन्,’ प्रतिवेदनको विषयवस्तु उद्धृत गर्दै ती अधिकारीले भने,‘यस तथ्यलाई समेत मध्यनजर गरी घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई संलग्नलाई कारबाही र पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आवश्यक कूटनीतिक पहल गर्न सुझाव दिइएको छ ।’
नेपाली नागरिकमाथि अपराध भएको स्थान भारतीय भूमि भएकाले नेपालतर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको निष्कर्ष समितिको छ । दार्चुलाको व्यास गाउँपालिकाका विभिन्न भूभागबाट नेपालको बाटो हुँदै सदरमुकामसम्म आउन सहज मार्ग निर्माण तथा पक्की पुलरझोलुंगे पुल यथाशक्य छिटो निर्माण गर्न पनि समितिले सुझाव दिएको छ ।
महिना दिन लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ खाँणले भने, ‘प्रतिवेदन कार्यान्वयन प्रक्रिया थाल्न गृह सचिवलाई निर्देशन दिन्छु ।’
मन्त्री खाँणले निर्देशन दिँदा सचिव टेकनारायण पाण्डे पनि कार्यक्रममै थिए । यससम्बन्धी विषय समेटेर गृह सचिव पाण्डेले बुधबार परराष्ट्रमा पत्राचारको तयारी गरेका छन् । यो विषय भारतीय पक्षसँग जोडिएकाले राजनीतिक र कूटनीतिकस्तरमा कस्तो पहल हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण हुनेछ ।
प्रतिवेदन आएकाले अब भने दोषीलाई ढाकछोप गर्न सरकारलाई पनि गाह्रो छ । यद्यपि प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पष्ट भाषा प्रयोग गरिएको छ । ‘घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताका सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,’ गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा’ घटना भएको भनिए पनि उनीहरूको संलग्नताबारे अनुसन्धान गर्न भनिएको मात्र उल्लेख छ । आजको कान्तिपुरमा खबर छ ।