Trending :
 

डाक्टरी पढ्न जुम्लामा विद्यार्थीको प्रतिस्पर्धा

भाद्र २२,२०७८

-आस्था न्यूज

भदौ २२, २०७८ काठमाडौं ।
कुनै समय थियो-डाक्टरहरू कर्णाली जान मान्दैनथे । एक जना डाक्टर नपाउने त्यही कर्णालीको जुम्लामा यतिखेर डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाभित्र एमबीबीएस पढाइ थाल्ने भएको हो ।
 
एमबीबीएस पढ्न चाहनेसँग चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिइसकेको छ भने उत्तीर्ण विद्यार्थीलाई एक साताभित्र कलेज छनोट गर्न समय दिइएको छ । आयोगले यसअघि नै प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न २० जनाको कोटा निर्धारण गरिसकेको छ । एकरदुई साताभित्रै डाक्टरी पढ्न विद्यार्थी जुम्ला पुग्ने प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानमा स्नातकोत्तर तहका एमडीजीपी, एमडी पिड्याटिक्स र एमडी एनेस्थेसिया कार्यक्रम सञ्चालन भइरहेको छ ।
 
‘देशको सुगम ठाउँबाट डाक्टरहरू स्नातकोत्तर गर्न कर्णाली पुगेका छन्, यसलाई कर्णालीको ठूलो उपलब्धि मानेका छौं,’ उनले भने, ‘हिजो डाक्टर नपाउने कर्णालीले अहिले डाक्टरलाई विशेषज्ञ पढाउन थालेको छ ।’ एक साताभित्रै कलेज छनोट गर्ने र दुई साताभित्रै प्रतिष्ठानमा विद्यार्थी भर्ना भइसक्ने प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताए ।
 
जुम्लामा डाक्टरी पढाइ हुने भएपछि स्थानीय खुसी छन् । ‘कर्णालीमा डाक्टर नबस्दा र औषधि उपचार नपाउँदा कैयौं बिरामीको अकालमा मृत्यु हुन्थ्यो,’ तिला गाउँपालिकाका जंगवीर बुढाले भने, ‘अहिले जस्तोसुकै जटिल बिरामीको शल्यक्रिया पनि यहीँ हुन्छ, यहाँबाट सुगम जिल्लामा डाक्टर जान थालेका छन् ।’
 
प्रतिष्ठानमा अहिले स्नातक तहको मिडवाफ्री विज्ञानअन्तर्गत बीएमएस, स्नातक जनस्वास्थ्य ९बीपीएच०, स्नातक क्लिनिकल पोषण, स्नातक फार्मेसीजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रतिष्ठानले एमडी स्त्रीरोग, एमएस हाजजोर्नी, जनरल सर्जरी, एमएन नसिङ र एमएसडी इपिडेमिओलोजीको पाठ्यक्रम तयार गरिसकेको प्रवक्ता भट्टराईले बताए ।
 
ती विषय आगामी शैक्षिक सत्रदेखि सुरु गर्ने तयारी छ । प्रतिष्ठानमा ३ सय शय्याको शिक्षण अस्पताल छ । जसमा १२ शय्याको आईसीयू र २४ शय्याको एचडीयू सुरु भएको अस्पताल निर्देशक डा।राजीव शाहले बताए । सीटी स्क्यान, सीआर एक्सरे, अक्सिजन प्लान्ट, पीसीआरलगायतका उपकरण अत्याधुनिक छन् । कान्तिपुरमा खबर छ ।