जयसिंहलाई महाकाली नदीमा खसाउने एसएसबीको संलग्नता किटान गर्दै भारतलाई पत्र

भाद्र २३,२०७८

-आस्था न्यूज

भदौ २३, २०७८ काठमाडौं ।
सरकारले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा खसाउने घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको किटान गरेको छ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन उद्धरण गर्दै सरकारले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतलाई दिएको छ ।
 
गृहको छानबिन समितिले नै एसएसबीको ‘संलग्नता’ बारे प्रस्ट लेखे पनि गृहको विज्ञप्तिमा भने ‘उपस्थिति’ मात्र भनिएकाले प्रतिवेदनमाथि आशंका उठेको थियो । तर, परराष्ट्रले शुक्रबार नेपालस्थित भारतीय दूतावासमार्फत पठाएका दुवै कूटनीतिक नोट कान्तिपुरले प्राप्त गरेको छ ।
 
‘नेपाल सरकार, परराष्ट्र मन्त्रालय काठमाडौंस्थित भारतीय दूतावासलाई यो जानकारी गराउँदछ कि दार्चुलाको व्यास गाउँपालिका–२ निवासी नेपाली नागरिक जयसिंह धामी २०२१ जुलाई ३० मा तुइनमार्फत नेपालको मालघाटबाट भारततर्फ महाकाली नदी पार गर्ने क्रममा खसेका हुन्,’ नोटमा भनिएको छ, ‘उक्त घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल (एसएसबी) को उपस्थिति र संलग्नता (प्रेजेन्स एन्ड इन्भल्भमेन्ट) मा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ ।’ कान्तिपुरमा खबर छ ।