Trending :
 

झलनाथ खनालको उपचारमा राज्यको ८१ लाख खर्च

भाद्र २४,२०७८

-आस्था न्यूज

भदौ २४,२०७८ काठमाडौं।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।
 
एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।
 
बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।
 
स्रोतका अनुसार दूतावासले भारु ४५ लाख ७९ हजार ८ सय १८ रुपैयाँ अस्पताललाई भुक्तानी गरिसकेको छ । भारु ५ लाख ८८ हजार ६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ । 
 
दूतावासले अस्पताललाई पत्र लेखेर बक्यौता तिर्ने जिम्मेवारी लिएर खनाललाई डिस्चार्ज गराएको थियो । खनालको उपचारका लागि परराष्ट्रले एक पटक नेपाली ५० लाख रुपैयाँ दूतावासलाई पठाएको छ । अरू रकम दूतावासले आफ्नै स्रोतबाट तिरेर सोधभर्ना माग गरेको छ । कान्तिपुरमा खबर छ ।