Trending :
 

ओली-सापकोटा टकरावले प्रतिनिधिसभा बैठकमा सधै तनाव

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८, २०७८ काठमाडौं ।
प्रतिनिधिसभा बैठकमा पछिल्ला दिन जे–जस्ता दृश्य देखिएका छन्, यी वर्तमान राजनीतिक परिस्थितिका उपज मात्रै होइनन् । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको तिक्ततापूर्ण सम्बन्धको असर पनि अहिले संसद्मा देखिएको छ । बुधबार र शुक्रबार एमालेको अवरोधकै बीच बैठक सञ्चालन गरेका सभामुख सापकोटाले आइतबार भने अवरोध अवलोकन गर्दै बैठक भदौ २९ सम्मका लागि स्थगित गरेका छन् ।
 
सभामुख चयनदेखि जारी संसद् अधिवेशनसम्म आइपुग्दा सापकोटा र ओलीबीच सुमधुर र स्वाभाविक सम्बन्ध कहिल्यै देखिएन । एक महिलासँगको विवादित सम्बन्धलाई लिएर तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सभामुखमा ओलीले सुवास नेम्वाङ वा शिवमाया तुम्बाहाङफेलाई पठाउन खोजेका थिए । तर तत्कालीन नेकपाको शक्ति सन्तुलन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अडानका कारण ओलीले सापकोटालाई रोक्न सकेनन् । ओली र सापकोटाबीच असमझदारी सभामुख चयनको गर्भबाटै जन्मिएको हो, एमाले प्रतिपक्षमा गएपछि विवाद हुर्कंदो छ ।
 
प्रधानमन्त्री हुँदा ओली र सभामुख सापकोटाबीचको सम्बन्ध मित्रतापूर्ण होइन, ‘दुस्मनीपूर्ण’ देखिएको थियो । सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष दाहालको इसारामा चल्छन् भन्ने ओलीको ठहर छ, सभामुखजस्तो संवैधानिक पदलाई ओलीले अपमानपूर्ण व्यवहार गर्छन् भन्ने सापकोटाको बुझाइ छ । यो असमझदारी राजनीतिक मात्र छैन, पटक–पटक सर्वोच्च अदालत पनि पुगेको छ ।
 
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने विषयले ओली र सापकोटाबीचको सम्बन्धलाई थप असहज बनाएको हो । तत्कालीन प्रधानमन्त्री ओलीले संसद्मा एमसीसी टेबुल गर्न पटक–पटक प्रयास गर्दा पनि सभामुखले दलहरूबीच सहमति नभएसम्म अगाडि नबढ्ने भन्दै रोकेका थिए । एमसीसी मुद्दाले नै ओली र तत्कालीन सभामुख महराको सम्बन्ध बिग्रिएको थियो ।
 
माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक देव गुरुङ सभामुख र ओलीबीच व्यक्तिगत कारण नभएर एमसीसीका कारण सम्बन्ध चिसिएको निष्कर्ष सुनाउँछन् । ‘पहिला कृष्णबहादुर महराविरुद्ध आपराधिक हमला भयो, त्यो एमसीसीमा ठोक्किएको थियो, अहिले पनि एमसीसीको लडाइँ हो,’ उनले भने, ‘महराविरुद्ध हमला गर्नेहरूले अग्नि सापकोटाविरुद्ध गर्नु मामुली कुरा हो ।’ पछिल्लो पटक पार्टी विभाजनमा षड्यन्त्रमूलक भूमिका खेलेको भन्दै एमाले अध्यक्ष ओली सभामुखप्रति आक्रामक छन् ।
 
एमालेले १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेपछि ओलीले सापकोटामाथि निरन्तर प्रहार गरिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममै ‘हैसियत नभएका व्यक्ति संवैधानिक पदमा पुगेको’ टिप्पणी गरेका छन् । सभामुख सापकोटाले कारबाहीको सूचना नटाँसेको विषयलाई लिएर ओली सर्वोच्च अदालत पुगेका छन् भने एमालेका सांसदले संसद्मा सभामुखविरुद्ध नाराबाजी गरिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।