काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् ।
 
विगतमा उपसभापति, एक जना महामन्त्री, सहमहामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा पार्टीको १४औँ महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख छ ।
 
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । काँग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।
 
मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औँ महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताउनुुभयो ।
 पदाधिकारीमा काँग्रेसले यस पटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औँ महाधिवेशनबाट एक जना मात्र मनोनीत सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक आठवटै पद निर्वाचित हुने प्रावधान राखिएको छ ।
 
काँग्रेसको विधानमा महिला, आदिवासीरजनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकरएक जना गरी आठ जना सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । दस वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।
 
सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था काँग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ ।
 
विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुन सक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरू सजग रहेको जनाइएको छ । खासगरी गरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुन सक्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ ।
 
काँग्रेसको विधानमा कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका दुई जना उपसभापति र दुई जना महामन्त्री चयन हुने प्रावधान छ ।
 
१४औँ महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या पाँच जनाको थियो । गोरखापत्रमा खबर छ ।