सीडीओ हेरफेरः कसैलाई ५ महिना नपुग्दै सरुवा

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौ ३१,२०७८ काठमाडौं ।
गृह मन्त्रालयले मनमौजी पारामा एक दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार १४ सहसचिव र २ उपसचिवको सरुवा गर्दा १२ जिल्लामा सीडीओ फेरिएका हुन् । उपत्यकाका तीनवटै जिल्लामा १ वर्ष अवधि नपुग्दै सीडीओको सरुवा भएको छ ।
 
२०७७ मंसिर १० मा काठमाडौंको सीडीओ भएका कालीप्रसाद पराजुलीलाई ९ महिना नबित्दै प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा गृह मन्त्रालयमा रहेका गोविन्दप्रसाद रिजाललाई सरुवा गरिएको छ ।
 
२०७७ मंसिर १५ मा भक्तपुरका सीडीओ भएका प्रेमप्रसाद भट्टराई पनि ९ महिना बित्न नपाउँँदै प्रधानमन्त्री कार्यालय सरुवा भएका छन् । उनको ठाउँमा गुल्मीकी सीडीओ रुद्रादेवी शर्मालाई पठाइएको छ । २०७७ पुस ६ मा गृहबाट ललितपुरको सीडीओका रूपमा सरुवा भएका ढुण्डीप्रसाद निरौला ८ महिना नबित्दै गृहमा तानिएका छन् ।
 
संखुवासभाका सीडीओ टेकनारायण पौडेललाई ५ महिना बित्न नपाउँदै गृहमा काज सरुवा गरी मन्त्रालयमा कार्यरत नूरहरि खतिवडालाई पठाइएको छ । यसअघि संखुवासभामा सीडीओ उपसचिव तहका कर्मचारी रहेकामा यसपटक सहसचिव खतिवडालाई पठाइएको हो । चितवनमा ६ महिना नपुग्दै सीडीओ प्रेमलाल लामिछानेलाई रक्षा मन्त्रालय पठाएर उनको ठाउँँमा रूपन्देहीका सीडीओ आस्मान तामाङलाई काज सरुवा गरिएको छ ।
 
लामिछानेलाई २०७७ फागुन २३ मा गृहबाट चितवन सरुवा गरिएको थियो । गृहमन्त्रीको जिल्लासमेत रहेको रूपन्देहीमा गृहका ऋषिराम तिवारीलाई पठाइएको छ ।
 
उदयपुरमा पनि एक वर्ष नपुग्दै सीडीओ तुल्सीराम सेढाईंलाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ । रामेछापको सीडीओमा २०७७ फागुन २५ मा गौलोचन सैंजुको सरुवा भएकामा उनलाई हटाएर दीपककुमार पहाडीलाई पठाइएको छ । २०७७ फागुन १९ मा गोरखा पुगेका शालिकराम शर्मा पौडेललाई हटाएर शंकरहरि आचार्यलाई लगिएको छ । 
 
मोरङका कोषहरि निरौला, दोलखाका वासुदेव घिमिरेलगायत केही जिल्लाका सीडीओलाई भने एक वर्ष अवधि पुगेपछि सरुवा गरिएको छ । धेरैजसो जिल्लामा अघिल्लो सरकारको प्राथमिकतामा परेका सीडीओ अहिले मन्त्रालय तानिएका हुन् ।