स्कुल खुल्न थाले, कोरोना संक्रमणको जोखिम कायमै
-आस्था न्यूज
असोज ४, २०७८ काठमाडौं ।
आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०.७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९.६६ प्रतिशत थियो ।
‘देशभरिमा देखिएका संक्रमितमध्ये सरदर ९ प्रतिशत बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले भने, ‘यो तथ्यांकले जोखिममा बालबालिका नै रहेको देखिन्छ ।’ बालबालिकाको परीक्षण न्यून हुने भएकाले संक्रमितको संख्या यकिन नआउने उनले बताए । केही समयअघि भएको अध्ययनमा ५ वर्षसम्मका ५५ प्रतिशत र ५ देखि १४ वर्षसम्मका ५९ प्रतिशत बालबालिकालाई संक्रमण भएको पाइएको थियो ।
मुलुकमा कोरोना संक्रमितको संख्या उच्च देखिएको २०७८ वैशाख २८ मा २० वर्षमुनिका संक्रमित ९.८२ प्रतिशत मात्रै थिए । त्यस दिन ९ हजार ४ सय ८३ जनालाई कोरोना देखिँदा ९ सय ३२ जना बालबालिका थिए । आइतबार देखिएको संख्या वैशाख २८ को भन्दा बढी हो ।
अरू समूहले खोप लगाए पनि बालबालिकाले लगाउन नपाएकाले उनीहरू जोखिममा रहेको विज्ञहरूले बताएका छन्,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘बालबालिकालाई खोप लगाउन सरकारले उच्च प्राथमिकतामा राखेको छ । पुस, माघसम्म खोप आउन सक्छ ।’
१२ देखि १८ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप सुनिश्चित भएको बताए पनि कहिले आउने र कहिले लगाउने भन्ने सरकारसँग जवाफ छैन । सरकारले बालबालिकाका लागि अमेरिकामा उत्पादन भएको ६० लाख फाइजर र ४० लाख मोडर्ना खोप ल्याउन लागेको जनाएको छ । ‘मोडर्ना ल्याउन त पैसासमेत पठाइसकेका छौं, फाइजर खरिदको अन्तिममा चरणमा छ,’ राज्यमन्त्री श्रेष्ठले भने ।
कोरोनाको पहिलो र दोस्रो लहरमा गरी १८ वर्षमुनिका ६३ हजार २ सय ६१ जना बालबालिका संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । पहिलो लहरमा २१ हजार ५ सय २३ जना संक्रमित भएकामा दोस्रो लहरमा ४१ हजार ७ सय ३८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ जना बालबालिकाले ज्यान गुमाएका छन् ।
‘रेड जोन’ मा विद्यालय खोल्न अनुमति
बालबालिका संक्रमित हुने दर बढिरहेका बेला काठमाडौं उपत्यकासहित मुलुकका ठूला सहरमा स्थानीय तहले विद्यालय खोल्न अनुमति दिन थालेका छन् । संक्रमण उच्च रहेका ११ जिल्लालाई स्वास्थ्य मन्त्रालयले अझै ‘रेड जोन’ मै राखेको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, मोरङ, सुनसरी, झापा, कास्की, रूपन्देही र सुर्खेत जिल्ला अझै पनि ‘रेड जोन’ मै छन् । ‘रेड जोनमा त विद्यालय सञ्चालन गर्नै सकिँदैन,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘जहाँ संक्रमण छैन, त्यहाँ स्थानीय तहले विश्लेषण गरी खोल्न सकिन्छ ।’
पाँच दिनअघि सीसीएमसीका पदाधिकारी र सरोकारवालाबीच विद्यालय खोल्ने वा नखोल्ने विषयमा छलफल भएको थियो । जोखिम भएको ठाउँमा खोल्न नहुनेमा एकमत देखिएको स्रोतले जनाएको छ । संक्रमणको विश्लेषण गरी विद्यालय खोल्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । बालबालिकाले कोरोनाविरुद्धको खोप कहिले पाउने भन्ने निश्चित नभए पनि संक्रमणको जोखिम रहेका जिल्लामा पनि विद्यालय सञ्चालन गर्न सुरु भइसकेको छ । स्वास्थ्य मन्त्रालयले कुनै पनि जिल्लालाई ‘ग्रिन जोन’ मा राखेको छैन ।
काठमाडौं रेड जोनमा भए पनि काठमाडौं महानगरपालिकामा वडा तहबाट अनुमति लिएर विद्यालय सञ्चालन सुरु भइसकेको छ तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने तत्काल विद्यालय सञ्चालनमा रोक लगाएको छ । कान्तिपुरमा खबर छ ।