मेलम्ची पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन एक अर्ब उपलब्ध
-आस्था न्यूज
असोज ४, २०७८ काठमाडौं ।
बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।
यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्ययोजना सरकारसमक्ष पेस गरेको थियो ।
सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । सकेसम्म यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।
बर्खा सकिनेबित्तिकै आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने बताउँदै उहाँले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको स्पष्ट पार्नुभयो । गोरखापत्रमा खबर छ ।