Trending :
 

न्याय खोज्न नेपालगन्जदेखि हिडेरै सिंहदरबारसम्म !

आश्विन ०६,२०७८

-आस्था न्यूज

असोज ६, २०७८ काठमाडौं ।
पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्‍यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन । किनकि, दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान गर्न हारगुहार गर्दा पनि प्रहरीले बेवास्ता गरेपछि उनीहरूको मन त्योभन्दा धेरै पोलिरहेको छ । त्यसैले काठमाडौं पुगेर न्यायको आवाज उठाउने बलियो अठोटका साथ यात्रा निरन्तर छ । 
 
गत शुक्रबार नेपालगन्जबाट हिँडेका उनीहरू पाँच दिनपछि मंगलबार दाङको भालुबाङ पुगेका छन् । भालुबाङ लुम्बिनी प्रदेशको प्रस्तावित राजधानी हो । तर अधिकारविहीन बनाइएको प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर पनि उनीहरूको यात्रा रोकिने छैन । मुख्यमन्त्री कार्यालयमा केही दिन धर्ना दिएर उनीहरू काठमाडौंतर्फ अघि बढ्नेछन् । न्यायको यो आन्दोलनमा ११ महिलाका साथमा ३ पुरुष सहयात्री पनि छन् ।
 
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ मा मृत फेला परेकी थिइन् । झुन्डिएको अवस्थामा घरमै उनको शव भेटिएको हो । उनले लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै अगुवा महिलाले प्रहरी गुहारेका थिए । तर प्रहरीले अनुसन्धानमा जाँगर गर्नुको सट्टा आत्महत्या किटान गर्न हतार गरेको महिलाहरूको गुनासो छ । प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टबाटै आत्महत्या गरेको स्पष्ट खुलेको दाबी गरेको छ । ‘यसमा पुनः अनुसन्धान गर्ने भए पनि आन्दोलन नभई शान्तिपूर्ण ढंगले प्रहरीलाई सघाउनुपर्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसूदन न्यौपानेले भन्छन् ।
 
त्यस्तै नेपालगन्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता छिन् । आफन्तले मंसिर १६ मा नै स्थानीयले प्रहरीमा किटानी जाहेरी दिएका थिए, तर अनुसन्धान भएन । अहिले प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दिए पनि मृत्युको कारण के हो, दोषी को हो भन्ने विषयमा केही भनेको छैन ।
 
उनको मृत्युको कारण थाहा पाउनुपर्ने माग गर्दै पीडित परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको हुन सक्ने महिला अधिकार मञ्चकी सदस्य रुवी खानको भनाइ छ । कान्तिपुरमा खबर छ ।