कांग्रेसले दसैँअघि नै हिमाली जिल्लामा अधिवेशन गर्ने
-आस्था न्यूज
असोज ८, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिका अनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।
कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।
मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन केन्द्रित भएर लामो छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो । कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । पार्टीको महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रियामा पार्टीले अङ्गीकार गरेको समावेशिताका विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको कोषाध्यक्ष यादवले बताउनुभयो । गोरखापत्रमा खबर छ ।