Trending :
 

चालु आबको पहिलो दुई महिनामा तीन खर्बको आयात, ४४ अर्बको निर्यात

आश्विन ०९,२०७८

-आस्था न्यूज

असोज ९,२०७८ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कअनुसार दुई महिनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।
 
गत आव २०७७/७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने रु एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महिनामा रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।
 
व्यापार घाटा दुई खर्ब ७० अर्ब
 
विभागले चालु आवको दुई महिनामा रु दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो । गोरखापत्रमा खबर छ ।