Trending :
 

चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु

आश्विन १२,२०७८

-आस्था न्यूज

असोज १२,२०७८ काठमाडौं ।
नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो ।
 
विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो । अभियान सफल बनाउन निकुञ्जले छोएका स्थानीय तहको समेत समन्वय र सहकार्य जरुरी रहेको क्रियसन नेपालकी परियोजना प्रमुख सुजाता कोइरालाले जानकारी दिनुभयो ।
 
“हामीले चितवन निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाउने गरी अभियान थालेका छौँ”, कोइरालाले भन्नुभयो, “निकुञ्जभित्र फालिने फोहोरले निकुञ्जका वन्यजन्तु तथा जैविक विविधतामै गम्भीर असर गर्न थालेको छ ।” अझै निकुञ्ज आसपासका क्षेत्रमा रहेका स्थानीय तहहरूले फोहोर फाल्ने डम्पिङ साइट जङ्गल तथा नदी किनारमा बनाउँदा पनि त्यसको प्रत्यक्ष असर वन्यजन्तुमा पर्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जलाई फोहोरबाट बचाउनु राम्रो काम भएको प्रतिक्रिया दिनुहुन्छ ।
 
“बाघ, गैँडा, हात्तीजस्ता जनावर मरेर पोस्टमार्टम गर्दा त्यसको पेटमा प्लास्टिक भेटिएका उदाहरण प्रशस्त छन् । यसका लागि पनि निकुञ्जभित्र फालिने फोहोर नियन्त्रण हुन जरुरी थियो”, उहाँले भन्नुभयो ।
 
निकुञ्ज घुम्न आउने पर्यटकले कुरकुरे, चाउचाउ, बिस्कुट, फ्रुटीजस्ता जङ्क फुड खाएर त्यसको प्लास्टिकका खोल जथाभावी फाल्ने गर्छन् । 
 
यस्ता खोलमा हुने नुनिलो र गुलियोको मात्राले वन्यजन्तुले यस्ता प्लास्टिक चाट्दाचाट्दै निल्ने गर्छन् । निकुञ्जका वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ यसरी प्लास्टिक खाएको जनावर अन्ततः पाचन प्रक्रियामै असर गरेर मर्ने बताउनुहुन्छ । गोरखापत्रमा खबर छ ।