Trending :
 

औद्योगिक अवस्थिति प्रतिवेदनः नेपाली उद्योगको आय वृद्धिदर आठ प्रतिशत

आश्विन १६,२०७८

-आस्था न्यूज

असोज १६,२०७८ काठमाडौं। 
 
नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घ ९सीएनआई०ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको देखाएको हो ।
 
परिसङ्घले त्रैमासिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अङ्क राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले शुक्रबार सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको कुल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।
 
प्रतिवेदनले त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक रहेको उल्लेख गरेको छ । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड-१९ महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको पनि देखाएको छ ।
 
अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७।४ प्रतिशत, उत्पादनमूलक उद्योगले औसतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ६६.१ प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।
 
अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरूले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।
 
 
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गर्ने बताउनुभयो ।
 
 
यसैगरी निजी क्षेत्रबाट आउने यस्ता प्रतिवेदनले निजी क्षेत्रले कसरी काम गरिरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनको निरन्तरताका लागि आग्रह पनि गर्नुभयो । गोरखापत्रमा खबर छ ।