Trending :
 

८४ दिनपछि सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डाको समझदारी

आश्विन २०,२०७८

-आस्था न्यूज

असोज २०,२०७८ काठमाडौं ।
 
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारी जुटाएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारी भएभन्दा एकरएकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् । 
 
संगठन सुदृढ नभएको भन्दै दाहाल नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एस प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा छन् । त्यतिमात्र होइन, उनीहरू गठबन्धनलाई आगामी चुनावसम्मै निरन्तरता दिन चाहन्छन् ।
 
यही बेला कांग्रेसका धेरै नेताहरू भने ‘अर्ली इलेक्सन’ को पक्षमा छन् । कम्युनिस्ट नेतृत्वको सरकार असफल भएकाले लगत्तै चुनाव भए आफूहरूले जित्ने उनीहरूको विश्वास छ । तर, यही शैलीको सरकार लम्बिए आगामी निर्वाचन पनि आफ्ना लागि धराप हुन सक्ने डर उनीहरूलाई छ । 
 
उता, एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री देउवालाई भन्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालप्रति लगातार प्रहार गरेका छन् । ओली सकेसम्म चाँडो गठबन्धन भत्काएर मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लैजाने योजनामा देखिन्छन् । 
 
आफूले दुई–दुईपटक विघटन गरेको प्रतिनिधिसभाको आयु लम्बिएको उनले रुचाएका छैनन् । त्यसैले ओलीको लाइनमा देउवा पुग्लान् भनेर दाहाल आफैं खुम्चिएकाजस्ता देखिन्छन् ।
 
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने प्रधानमन्त्री देउवाले दाहाललाई दबाबमा राख्न सक्ने अवस्था नभएको बताउँछन् । बरु गठबन्धनका अन्य नेताले देउवालाई दबाबमा राखेको उनको बुझाइ छ । ‘प्रधानमन्त्रीको कार्यदक्षताको समस्या हो । कुनै कारणले देउवा ओलीसँग मिलेर गए भने उनको राजनीतिक साख झन् बिग्रिन्छ,’ श्रेष्ठ भन्छन्, ‘उनलाई फाइदा पनि छैन ।
 
किनभने कांग्रेसको प्रतिद्वन्द्वी एमाले नै हो ।’ हुन त एमसीसी सम्झौता अनुमोदनका लागि गठबन्धनका नेताहरूले सहयोग नगरेकामा प्रधानमन्त्री देउवाको पनि असन्तुष्टि छ । माओवादी अध्यक्ष दाहाल र एस अध्यक्ष नेपालले परिमार्जन गरेर मात्र एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अडान राखेपछि देउवा अगाडि बढ्न सकेका छैनन् ।’ एमसीसीमा देउवा बरु ओलीसँग नजिक देखिन्छन् । ‘तर एउटै विषयले गठबन्धनको भविष्य निर्धारण गर्दैन,’ श्रेष्ठ भन्छन् ।
 
कांग्रेसका एक नेता भने प्रधानमन्त्री देउवासँग सबै विकल्प खुला रहेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री गठबन्धनका नेताहरूको दबाबमा हुनुहुन्न, बरु उहाँले अरूलाई दबाबमा राखेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘गठबन्धन नेताहरूले धेरै दबाब बनाए भने विपक्षीलाई साथमा लिएर चुनावमा जाने बलियो विकल्प प्रधानमन्त्रीसँग जीवित छ ।’
 
महाकालीको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेको घटनामा सरकारले ढिला मात्रै अग्रसरता लिएको बुझाइ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूको मत छ । तर दाहालले यस मुद्दामा देउवामाथि दबाब बढाएका छैनन् । 
 
तर पनि गठबन्धन भरपर्दो छैन भन्नेमा दाहाल स्पष्ट छन् । भन्दै आएका छन्, ‘गठबन्धनलाई तोड्न देशभित्र र बाहिरबाट षड्यन्त्र भइराखेको छ । प्रतिगमनलाई परास्त गर्न, संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन हरहालतमा जोगाउनुपर्ने अवस्था छ ।’
 
राजनीतिक विश्लेषक हरि रोका पनि अहिलेको अवस्थामा देउवाले गठबन्धनका नेताहरूलाई बाहिर राखेर ओलीसँग सहकार्य गर्ने सम्भावना नरहेको तर्क गर्छन् । आजको कान्तिपुरमा खबर छ ।