Trending :
 

दशैँ नजिकिएसँगै सीमा क्षेत्र खुला गरेपछि भारतबाट फर्किनेको चहलपहल बढ्यो

आश्विन २०,२०७८

-आस्था न्यूज

असोज २०, २०७८ काठमाडौं ।
कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।
 
सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्य दुई नाका वीरगञ्ज र भिठामोडमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ ।
 
यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीमा कोरोना जाँच नियमित रूपमा हुँदैआएको छ । प्रदेश १ का काँकडभिट्टाको मेची भन्सार र भद्रपुर नगरपालिकाको भद्रपुर भन्सार कार्यालय खुला गरिएको छ । यद्यपि, औपचारिक रूपमा भारतले नाका खुलाएको छैन ।
 
गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र सीमा नाका पनि चार दिनदेखि सञ्चालनमा आएको छ । १८ महिना बन्द रहेको भन्सार कार्यालय खुला भएपछि मानिसको चहलपहल बढेको छ । भारतले वाल्मीकि नगर भन्सार र नेपालले त्रिवेणीतर्फको भन्सार सञ्चालनमा ल्याएको छ ।
 
प्रदेश २ का स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार, भारतीय नम्बरका निजी सवारी प्रवेशका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ । स्वास्थ्य मापदण्ड जाँचका लागि प्रदेश २ मा वीरगञ्ज र भिठामोडमा मात्र स्वास्थ्य जाँच केन्द्र राखिएका कारण समस्या आउन सक्ने उहाँको धारणा छ । गोरखापत्रमा खबर छ ।