चीनले पुनः कोरोनाविरुद्धको थप १० लाख मात्रा खोप दिने

आश्विन २१,२०७८

-आस्था न्यूज

असोज २१,२०७८ काठमाडौं।
चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ ।
 
चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।
 
छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताउनुभएको थियो ।
 
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले अनुदानमा दिन लागेको खोपबारे छलफल भएको बताउनुभयो ।
 
यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ । यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि तत्काल आउने बताइएको छ ।
 
छलफलमा चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । यसैगरी चीनको अनुदानमा प्राप्त १६ लाख मात्रा खोप अक्टोबर २० देखि २३ सम्म नेपाल आइसक्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ । गोरखपत्रमा खबर छ ।