दसैंको अग्रिम टिकट बुकिङमा सरकारले तोकेभन्दा ५० प्रतिशतसम्म बढी असुली

आश्विन २१,२०७८

-आस्था न्यूज

असोज २१,२०७८ काठमाडौं।
दसैंमा घर जान बसको टिकट बुकिङ गर्न भन्दै सुर्खेतका महेश पाण्डे बुधबार सुन्धारास्थित टिकट काउन्टर पुगे । तर टिकट पाएनन् । नेपालगन्जसम्म जाने टिकट बुक गर्ने निधो गरे । तर टिकट महँगो पर्‍यो । असोज २५ का लागि बुकिङ गर्न गएका उनले सरकारले तोकेको भन्दा बढी भाडा बुझाउन बाध्य भए ।
 
‘काउन्टरमा सोध्दा टिकट छैन भन्छन्, टिकट पाउनै गाह्रो पर्‍यो,’ पाण्डले भने, ‘सुर्खेतको टिकट कतै नपाएपछि म र साथीसहित ५ जनाले नेपालगन्जसम्मको भए पनि टिकट बुकिङ गर्‍यौं ।’ उनले नेपालगन्जसम्मको टिकटका लागि प्रतिव्यक्ति १ हजार ८ सय ५० रुपैयाँ बुझाए । जुन भाडा सरकारले तोकेभन्दा ५ सय ६४ रुपैयाँ (झन्डै ४४ प्रतिशत) बढी हो ।
 
तर सरकारले काठमाडौं–नेपालगन्जको भाडा १ हजार २ सय ८६ रुपैयाँ मात्रै तोकेको छ । ‘काउन्टरमा सरकारले तोकेभन्दा बढी किन भाडा लिएको भनेर सोध्दा उल्टै जाने भए टिकट बुक गर्नू, नत्र नगर्नू भन्ने जवाफ आयो,’ उनले भने, ‘दसैंमा घर जान नपाइएला भन्ने डरले तोकेभन्दा बढी नै भाडा दिन बाध्य भयौं ।’
 
धनगढीका लागि उद्धव कठायतले १ हजार ९ सय ८५ रुपैयाँ तिरेर टिकट बुक गरे । तर सरकारले यो रुटको भाडा १ हजार ६ सय ५७ रुपैयाँ मात्रै तोकेको छ । तर काउन्टरबाट ३ सय २८ रुपैयाँ बढी भाडा ९झन्डै २० प्रतिशत० असुलेको उनले गुनासो गरे । ‘२६ गते घर जानका लागि दुई जनाको गरेर ३ हजार ९ सय ७० रुपैयाँ भाडा तिरें,’ उनले भने, ‘अरु बेला यति धेरै भाडा तिर्न पर्दैन थियो ।’
 
काठमाडौं–काँकडभिट्टाका लागि रिवाजजंग राना मगरले काउन्टरवालाले भनेअनुसार भाडा नदिए टिकट नदिने भनेपछि बढी नै भाडा बुझाएको सुनाए । यो रुटमा सरकारले तोकेको भाडा १ हजार ४ सय ७० रुपैयाँ छ । तर उनले २ हजार १ सय ६० रुपैयाँ तिरेको बताए ।‘दसैंमा सधैं धेरै नै भाडा तिरेर घर जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले पनि सरकारले तोकेको भन्दा बढी भाडा तिरेर घर जाँदै छु ।’ मगरले तिरेको भाडा सरकारले तोकेको भन्दा झन्डै ४७ प्रतिशतले बढी हो ।
 
दसैंमा अग्रिम टिकट बुकिङका नाममा यात्रुसँग मनपरी भाडा लिइएको पाइएको छ । गत असारमा सरकारले लामा दूरीका सवारी साधनका हकमा साविकको भाडामा २८ प्रतिशतले वृद्धि गरे पनि टिकट काउन्टरमा त्योभन्दा बढी भाडा माग्ने गरिएको छ । अनलाइन बुकिङ गर्ने यात्रुहरूले पनि बढी भाडा असुलिएको गुनासो गरेका छन् । कान्तिपुरमा खबर छ ।