बाँदरले भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थाले

आश्विन २३,२०७८

-आस्था न्यूज

असोज २३, २०७८ काठमाडौं ।
बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । 
 
भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् ।
 
बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका-५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताए।
 
आजको गोरखापत्र दैनिकमा खबर छ ।